१५ साउन,काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री प्रचण्ड र ओलीबीच संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नेसम्बन्धमा छलफल भइरहेको छ।
यस्तै, प्रतिनिधि सभा बैठक सञ्चालन, १ क्विन्टल सुन तस्करी प्रकरणमा भइरहेको छानबिन लगायत विषयमा पनि छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । यसअघि आइतबार पनि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता भएको थियो। प्रचण्ड र ओलीको भेटवार्तापछि ३ दल (नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र)का शीर्ष नेताहरुबीच बालुवाटारमा नै छलफल भएको थियो।
प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीसहित नेताहरुको बैठकमा संवैधानिक परिषद्को बैठक मंगलबार बस्ने सहमति भएको थियो । मंगलबार नै प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति भएको थियो । हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण साउन २० गतेदेखि अवकाशमा जाँदैछन् ।
प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा १ महिना अगाडिदेखि नै प्रक्रिया सुरु हुनुपर्ने व्यवस्था भए पनि यसबीचमा संवैधानिक परिषद्को बैठक बसेको थिएन । आइतबार प्रतिनिधि सभा बैठक बस्ने सन्दर्भमा संसद् सञ्चालनबारे पनि दुई नेताबीच कुराकानी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
यसअघि साउन १० गतेको प्रतिनिधि सभा बैठक एमालेको अवरोधका कारण स्थगित भएको थियो । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको गेटबाट बरामद भएको १ क्विन्टल सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने मागसहित एमालेले साउन १० गते संसद् बैठकमा अवरोध गरेको थियो।