२१ साउन, काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ । ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने भनेर रास्वपाले सो एम्बुलेन्स संचालनमा ल्याएको थियो ।
रास्वपा सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट विजयी भएको एक सय दिन पुगेको अवसरमा पुरानो मेडिकल कलेजको एम्बुलेन्सलाई निलो रंगको बनाएर यही साउन १७ गतेदेखि मोबाइल क्लिनिक सन्चालनमा ल्याएको घोषणा गरेका थिए । तर गैरकानूनी रुपमा रंग परिवर्तन गरेको र ‘एम्बुलेन्स’ लेखेको मेटाएर ‘मोबाइल क्लिनिक’ लेखेको भन्दै यो विवादमा परेको थियो ।
विवाद पछि राष्ट्रिय स्वतन्त्र पार्टी बागमती स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख डा. मनोहर प्रधानले एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई नै फिर्ता गरिएको बताए । अब उक्त एम्बुलेन्सको सट्टा अर्को भ्यानको व्यवस्था गरेर मोबाइल क्लिनिकको रुपमा चलाउने तयारी रास्वपाले गरेको छ ।
लामिछानेका प्रमुख कार्यकारी अधिकृत हेमन्त बरालले अस्पताललाई सो एम्बुलेन्स फिर्ता गरेर आजै अर्को एम्बुलेन्स भाडामा लिइ सेवालाई निरन्तरता दिइएको बताए । बरालले सो एम्बुलेन्स पुरानै रंगमा अस्पताललाई फिर्ता दिइने बताए । मोबाइल सेवा भने एक दिन पनि अवरुद्ध हुन नदिएको उनको भनाइ छ ।
बरालका अनुसार ५ दिनका लागि भनेर एउटा एम्बुलेन्स भाडामा लिएर पठाइएको छ । यो एम्बुलेन्समा भने कुनै पनि छेडखानी गरिएको छैन । पार्टीले दीर्घकालका लागि अर्को गाडी ल्याउने सोच बनाएकाले तत्कालका लागि यो व्यवस्था गरिएको उनले जानकारी दिए । एम्बुलेन्समा एकजना डाक्टर र एकजना नर्स रहन्छन् ।
रविको सचिवालयले दैनिक सेड्यूल बनाएर मोबाइल क्लिनिकलाई विभिन्न वडाहरूमा पठाउने गरेको छ । यसले ६५ वर्षमाथिका वृद्ध वृद्धालाई निशुल्क सेवा दिन्छ । भारतीय दूतावासले उक्त एम्बुलेन्स आजभन्दा ११ वर्ष अगाडि पुरानो मेडिकल कलेजलाई दिएको थियो । लामो समयदेखि नवीकरणसमेत नगरिएको उक्त एम्बुलेन्स गत साउन १४ गते जरिवाना तिरेर नवीकरण गरी मोबाइल क्लिनिकको रुपमा सन्चालमा ल्याएको घोषणा गरिएको थियो ।
यसैबीच सभापति लामिछानेले चितवनमा सञ्चालित ‘मोबाइल क्लिनिक’ सेवा जारी रहने बताएका छन् । मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको पुरानो मेडिकल कलेज भरतपुरको ल्याएको एम्बुलेन्स फिर्ता भएपनि सेवा जारी रहने लामिछानले सामाजिक संजालमार्फत बताएका हुन् ।
‘मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा बा आमाको सेवामा हुनेछ,’ उनले लेखेका छन् । ६५ वर्षभन्दा माथिको उमेरका बिरामीका लागि छिट्टै २ वटा मोबाइल क्लिनिक सेवा सञ्चालनमा ल्याउने उनले बताए ।
रविले ब्लु बसका विषयमा पनि प्रश्न उठेको प्रति लक्षित गर्दै भनेका छन् , ब्लु बसमा पनि कुनै समस्या छैन् । ‘मान्छेको पछि लाग्न छोडेर अब गाडीको पछि ? भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला। हैट हेडलाईन आतंक र ….हैरानी । सक्दैनौं, सक्दै त सक्दैनौं,’ उनले भनेका छन् । रविले महिलाहरूका लागि निःशुल्क सञ्चालन गरेको बसको रंग अनुमति नलिई परिवर्तन गरेको भन्दै प्रश्न उठिरहेको छ ।