२८ साउन,एजेन्सी ।
विश्व खेलकुदको सबैभन्दा लोकप्रिय खेल फुटबलमा देखाईदै आएको रातो कार्डको प्रयोग अब विश्व खेलकुदको अर्को लोकप्रिय खेल क्रिकेटमा पनि देखाईने भएको छ । तर यो सबै क्रिकेट प्रतियोगितामा नभएर वेस्टइन्डिजले आयोजनाा गर्ने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘क्यारेबियन प्रिमियर लिग’ मा पहिलो पटक रातो कार्डको प्रयोग गरिने भएको छ ।
‘क्यारेबियन प्रिमियर लिग’ को पुरुष तथा महिला दुवै प्रतियोगितामा रातो कार्डको प्रयोग गरिने इएसएिनले जनाएको छ । खेलका क्रममा स्लो ओभरका लागि गल्ती गर्ने खेलाडीलाई रातो कार्ड देखाएर मैदानबाट बाहिर पठाउन सक्ने अधिकारसम्म अम्पायरलाई दिइने भएको छ ।
क्रिकेटमा यो नियमलाई पहिलो पटक प्रयोगका रूपमा सुरु गर्न लागिएको छ । क्यारेबियन प्रिमियर लिगमा खासगरी ‘स्लो ओभर रेट’ का कारणले यो नियम लागू गर्न लागिएको हो । अहिलेसम्म विश्व क्रिकेटमा ‘स्लो ओभर रेट’ मा सम्बन्धित खेलाडीलाई जरिवाना मात्र तिराउने गरिन्छ ।
यसैगरी तीनपटक ‘स्लो ओभर रेट’ देखिएमा सम्बन्धित टोलीका कप्तानलाई एक खेलको प्रतिबन्धसम्म लगाउने नियम अहिले छ । यति हुँदा पनि अहिले विश्व क्रिकेट ‘स्लो ओभर रेट’ को समस्याबाट मुक्त हुन सकेको छैन ।
‘स्लो ओभर रेट’ का कारण पछिल्लो समय टीट्वान्टी क्रिकेटको समय बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न रातो कार्डको नियम लागू गरिएको क्यारेबियन प्रिमियर लिगका सञ्चालन निर्देशक माइकल हलले बताएका छन् ।
आगामी सिजनको क्यारेबियन प्रिमियर लिगमा १८औँ ओभरको खेल सुरु हुनुभन्दा अगाडि ‘स्लो ओभर रेट’ देखिएमा सम्बन्धित टोलीको एकजना खेलाडीलाई फिल्डिङ सर्कलको भित्र बोलाइने छ । यस्तो अवस्थामा फिल्डिङ सर्कलभित्र चारको सट्टा पाँच जना खेलाडी रहने छन् ।
यसैगरी १९ औँ ओभरभन्दा अगाडि ‘स्लो ओभर रेट’ देखिएमा सम्बन्धित टोलीका दुईजना खेलाडीलाई ३० यार्डको सर्कलभित्र बोलाइने छ । यस्तो स्थितिमा ३० यार्डको सर्कलभित्र चारको सट्टा ६ जना खेलाडी थुप्रिने छन् ।
तर, २०औँ तथा अन्तिम ओभरको खेल सुरु हुनुभन्दा अगाडि ‘स्लो ओभर रेट’ देखिएमा सम्बन्धित टोलीका एकजना खेलाडीलाई रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाइने छ । कुन खेलाडीलाई मैदानबाट बाहिर पठाउने भनेर छान्ने अधिकार भने ब्याटिङ गरिरहेको टोलीको कप्तानलाई दिइने छ ।
अर्थात, ब्याटिङ गरिरहेको टोलीको कप्तानले छानेको एकजना खेलाडी (फिल्डिङ गरिरहेको टोलीको) लाई मैदानबाट बाहिरि पठाइने छ । त्यसपछि फिल्डिङ गरिरहेको टोली १० खेलाडीमा समेटिने छ । यसका अतिरिक्त उक्त टोलीका ६ जना फिल्डिर पनि ३० यार्डको घेराभित्र रहने छन् ।
फिल्डिङ गर्ने टोलीका कारण मात्र सधैं टीट्वान्टी प्रतियोगिताको समय लम्बिने होइन । कतिपय अवस्थामा ब्याटिङ गर्ने टोलीको बदमासीका कारण पनि प्रतियोगिताको समयावधि लम्बिन पुग्छ । यस्तो स्थितिमा ब्याटिङ गर्ने टोलीका खेलाडीले पनि सजाय पाउने छन् ।
त्यसैले ब्याटिङ गर्ने टोलीको बदमासी देखिएमा अम्पायरले सबैभन्दा पहिले उक्त टोलीका कप्तानलाई चेतावनी दिनेछन् । त्यसपछि पनि ब्याटिङ गर्ने टोलीको बदमासी कायमै रहे अम्पायरले जरिवाना स्वरूप पाँच रन घटाउने छन् । टीट्वान्टी प्रतियोगितामा प्रत्येक पाली ८५ मिनेटको हुनेछ ।
१७औँ ओभरको खेल ७२ मिनेट १५ सेकेन्डमा सकिनु पर्छ । यसैगरी १८औँ ओभरको खेल ७६ मिनेट ३० सेकेन्डभित्र सकिनु पर्छ । १९औँ ओभरको खेल ८० मिनेट ४५ सेकेन्डभित्र सकिनु पर्छ । २०औँ तथा अन्तिम ओभरको खेल भने ८५ मिनेटभित्र सकिनु पर्ने नियम रहेको छ ।
क्यारेबियन प्रिमियर लिग टीट्वान्टी प्रतियोगिता अगस्ट १७ बाट सुरु हुँदैछ । रातो कार्डको सजाय दिनु फुटबलको सर्वाधिक चर्चित एक प्रचलित नियम हो । फुटबलबाहेक अन्य एक दर्जन खेलकुदमा पनि रेडकार्ड दिने नियम छ ।
विश्वकप फुटबलमा भने सन् १९३० मा उरुग्वेमा भएको विश्वकपदेखि नै रातो कार्ड प्रयोग हुँदै आएको छ । विश्वकपमा पहिलोपटक रातो कार्ड पेरुका मिडफिल्डर प्लासिडो गालिन्डोलाई दिइएको थियो ।