काठमाडौं,भदौ २२
नेपालले चीनका ७ वटा बन्दरगाह प्रयोग गर्न पाउने भएको छ । पारवहन सम्झौताका लागि तयार प्रोटोकलको मस्यौदाले अन्तिम रुप पाएको छ । बिहीबार मध्यरातमा मन्त्रालयले विज्ञप्ती जारी गर्दै उक्त मस्यौदाको अन्तिम रुप दिएको घोषणा गरेको हो ।
चीनले प्रोटोकललाई अन्तिम रूप दिएपछि नेपाललाइ बन्दरगाहमार्फत् तेस्रो मुलुकसँग कारोबार गर्न बाटो खुलेको छ । यसले भारतसँगको एकाधिकारको पनि अन्त्य हुनेछ ।यसबाट चिनियाँ भूभागअन्तर्गतको समून्द्रसम्म पारवहन अधिकार पाउने सुनिश्चित भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव तर्कराज भट्टले जानकारी दिए । उनका अनुसार नेपालले चीनका चार सामून्द्रिक र तीन सुख्खा बन्दरगाह प्रयोग गर्न पाउनेछन् ।
तेस्रो मुलुकबाट चीन हुँदै नेपालमा वस्तु आयात गर्दा प्रयोग हुने तियानजिन, सेन्चेन, लियानकाङ, चानछ्याङ लगायतका खुला सामुन्द्रिक बन्दरगाह तथा लाचाओ, ल्हासा, सिगात्से लगायतका सुख्खा बन्दरगाहहरु प्रयोग गर्न पाउने प्रोटोकलमा उल्लेख छ । साथै ती बन्दरगाहहरुबाट नेपालसम्म आउने उपयुक्त मार्ग, भन्सार सम्बन्धी प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रिया लगायतका पारवहन सम्बन्धी विविध विषयहरु टुंगो लागेको छ ।
२०१६ मा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका क्रममा नेपाल–भारत पारवहन सम्झौता भएको थियो । भदौ १९–२१ मा काठमाडौंमा बसेको परामर्श बैठक नेपाल र चीन पक्ष दुवैले मस्यौदाले अन्तिम दिएको हो। अब पारवहनमा भारतसँगको परनिर्भरता तोडिने निश्चित छ ।
तियान्जिन बन्दरगाह काठमाडौंबाट तीन हजार ५०० किलोमिटरको दूरीमा छ । जुन चीनका अन्य बन्दरगाहको तुलनामा नेपालबाट सबैभन्दा नजिक हो । तियान्जिन चीनको राजधानी बेइजिङबाट पनि नजिकको दुरीमा रहेको छ । यद्यपि सिगात्सेदेखि तियान्जिङसम्म सोझै रेलमार्ग जोडिएको छैन ।
अहिले नेपालले तेस्रो मुलुकसँगको करिब ९९ प्रतिशत व्यापारमा भारतीय रुट प्रयोग गर्दै आएको छ । चीनसँग बन्दरगाह प्रयोगको प्रोटोकलमा सहमति भए अन्तर्राष्ट्रिय व्यापारमा भारतीय रुटमाथि निर्भर हुनुपर्ने बाध्यता घट्नेछ ।
लामो समयदेखि नेपालले भारतको कोलकातालाई अन्तर्राष्ट्रिय बन्दरगाहका रूपमा प्रयोग गर्दै आएको छ । समय बखतमा नाकाबन्दी, बाढी तथा भारतीय नीतिमा आउने परिवर्तनले सामान आयात–निर्यातमा ठूलो समस्या देखा परेको छ । यसले गर्दा ठूला पानीजहाजबाट सिंगापुर, श्रीलंका र हङकङमा अर्को जहाज फेर्नुपर्ने बाध्यता छ । यसको विकल्पस्वरूप भारतको विशाखापटनम बन्दरगाह प्रयोगको सम्झौता गरेको थियो ।(विकास न्युजबाट)