Nepal Times
Nepal Times
3
Shares

महराका बाबुछोरामाथि पनि अनुशन्धान गर्न आदेश

महराका बाबुछोरामाथि पनि अनुशन्धान गर्न आदेश

११ भदौ, काठमाण्डौ ।
विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग सम्पर्कमा देखिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोरामाथि छानबिनको तयारी गरिएको छ । यो प्रकरणमा कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि पनि अनुसन्धान गर्न प्रहरीलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले निर्देशन दिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यो प्रकरणको अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ । सो प्रतिवेदनमा यो सुन ल्याउने चिनियाँ नागरिकसँग महरा बाबु–छोराले पटक–पटक सम्पर्क गरेको खुलेको उल्लेख गरिएको छ । २०७९ पुस १० मा दुबईबाट ‘भेप’मा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग महरा र उनका छोराहरूको सम्पर्क देखिएको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर, उनीहरूसँग बयानसमेत लिइएको छैन । त्यसैले जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि पनि अनुसन्धान गरी पूरक प्रतिवेदन ल्याउन निर्देशन दिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले थप अनुसन्धान गरी प्रतिवेदन दिन सीआईबीलाई भनेको बताए । उनले भने, ‘अनुसन्धानको बाटो खुला राखेका छौँ । सीआईबीबाट थप कुरा आएको छैन ।’ महराका बाबु–छोराको यो प्रकरणमा संलग्नता रहेको भन्दै सार्वजनिक रूपमै प्रश्न उठिरहेको छ । यो विषयमा संसदमा मात्र नभएर सत्तारुढ पार्टी माओवादी केन्द्रमा पनि उठिरहेको छ ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी बैठकमा गलत भए नेताहरूमाथि पनि अनुसन्धान हुने बताएका थिए । तर, पनि हालसम्म महरा बाबु–छोरामाथि अनुसन्धान भएको छैन । महरा बाबु–छोराले भने आफूहरूको यो प्रकरणमा कुनै संलग्नता नरहेको दाबी गरिरहेका छन् । कृष्णबहादुर महराले त चिनियाँ नागरिकलाई फलफूल व्यापारीका रूपमा मात्र चिनेको बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.