१२ भदौ, एजेन्सी ।
एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा आफ्नो सबैभन्दा ठूलो अवे जित निकालेको छ । सोमबार राति भएको खेलमा कीर्तिमानी जित निकाल्ने क्रममा एट्लेटिकोले रायो भालेकानोलाई ७–० गोलले हरायो । यसअघि सन् २०१३ मा गेटाफेलाई ७–० को फराकिलो अन्तरले नै हराएको थियो ।
एन्टोनी ग्रिजम्यान, मेम्फिस डेपे र नाहुएल मोलिनाले गरेपछि एट्लेटिको ३६ मिनेटमा ३–० ले अगाडि थियो । दोस्रो हाफको १३ मिनेटको अन्तरमा चार गोल गरेपछि एट्लेटिकोले विशाल जित निकाल्यो । उसका लागि अल्भारो मोराटाले दुई गोल गर्दा एन्जल कोरिया र मार्कोस लोरेन्टेले एक एक गोल गरे ।
लिगमा उसले ७ अंक जोडेको छ भने दोस्रो स्थानमा छ । समान खेलबाट ६ अंक जोडेको भायकानो तालिकाको आठौं स्थानमा छ । “सुरुआतदेखि नै हामीले उत्कृष्ट खेल खेल्यौं । हामीले तीन महत्वपूर्ण अंक जोड्यौं । म हाम्रो टिमवर्कमा निकै खुसी छु,” जितपछि ग्रिजमनले भने । गएरातिकै अर्को खेलमा गेटाफेले अलाभेसलाई १–० अन्तरले हराएको छ ।