१५ भदौ, एजेन्सी ।
चीनका पशु चिकित्सकले दुर्लभ सारसको भाँचिएको चुच्चो जोड्न सफल भएका छन् । उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तमा फेला परेको चुच्चो भाँचिएको सारसको शल्यक्रियामार्फत सफल प्रत्यारोपण गरिएको हो । ओरिएन्टल सेतो सारसलाई चीनमा प्रथम श्रेणीको राष्ट्रिय संरक्षणअन्तर्गत प्रवासी चराका नामले चिनिन्छ ।
चुच्चोको सफल शल्यक्रिया गरेका झु बाओगुङ होङ्गेले यो ओरिएन्टल सारसलाई बचाउनको लागि आफूहरुले धेरुै विकल्पहरुको विचार गर्नुपरेको बताएका छन् । उनले सारसलाई सकेसम्म चाँडो कृत्रिम चुच्चो उपलब्ध गराउनु उचित हुने ठानेर सोही अनुसार नक्कली चुच्चो प्रदान गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वालाई बताएका छन् ।
चरालाई उपचार पछि जंगलमा छोडिएको छ । यो चराहरुलाई चीनमा विशाल पाण्डा भनेर पनि चिनिन्छ । प्रकृति संरक्षणको लागि यो अन्तर्राष्ट्रिय संघले दुर्लभ चराको रुपमा सूचिवद्ध गरेको छ । सेतो सारसको लामो घाँटी, लामो खुट्टा र एक लामो चुच्चो रहेको हुन्छ । यिनीहरुको औसत जीवन २० वर्ष हुने गर्दछ ।
यो प्रजातिको सारस ६ फिटसम्म अग्लो र साढे ३ किलो तौलको हुने र पखेटा फैलाउँदा दुवै पखेटाको लम्वाइ ८ फिटसम्म पुग्छ। सारस नेपाल, अस्ट्रेलिया, क्याम्बोडिया, चीन, भारत, लाओस, म्यानमार, पाकिस्तान र भियतनामको रैथाने चरा हो ।
विश्वब्यापी रुपमा विश्व संरक्षण संघ आइयुसीएनले यस चरालाई संवेदनशीलको सुचिमा राखेको छ भने नेपाल बर्ड रेड डाटा बुकले पनि यसलाई संवेदनशीलको सुचिमा नै राखेको छ । सारसको संख्या नेपालमा करिब ७ सयको हाराहारीमा रहेको अनुमान छ । यीमध्ये करिब एक सय जोडी लुम्बिनी क्षेत्रमै रहेका छन्। नेपालमा संरक्षित ९ पंक्षीहरुमा सेतो सारस पनि पर्दछ ।