काठमाडौं,भदौ २२
शंकर इलेक्ट्रोनिक्स कम्पनीको ७० करोड रूपैयाँ घोटाला काण्डका आरोपित ६ जना कर्मचारी सहित १४ जना विरुद्ध मुद्दा दायर हुने भएको छ । नेपाल प्रहरीको केन्द्रिय अपराध अनुसन्धान महाशाखा (सीआइबी) ले आइतबार १४ जना आरोपित व्यक्तिहरु विरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको हो । मुद्दा जिल्ला अदालत काठमाडौंमा दायर हुनेछ ।
१२ लाख रूपैयाँको चक्करमा पर्दा कम्पनी रजिष्ट्रार कार्यालयका ६ जना कर्मचारीको जागिर जाने लगभग पक्का भएको छ । कार्यालयमा कार्यरत २ उपरजिष्ट्रार धर्मराज रोकाय र गंगाधर पौडेल हाल फरार रहेका छन् । अधिकृतद्धोय नारायणप्रसाद पोखरेल र उमेशमान जोशी हिरासत मै रहेका छन् । सीआइबीले २ कम्युटर शाखामा कार्यरत कर्मचारीको नाम खुलाएको छैन ।
कार्यालय श्रोतको अनुसार यी कर्मचारीहरुले शंकर इलेक्ट्रोनिक्सको सेयर ट्रान्फरका लागि १२ लाख रुपैंया लिएको बताइएको छ । नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले भने–‘रकमकै लोभमा उनीहरुले फाइल पास गरेर पठाएका हुन् ।’ २५ लाख रूपैयाँ मूल्याङकन गरिएको कम्पनी सेयर ट्रान्सफरमा कर्मचारीको स्पष्ट मिलेमतो रहेको सीआइबीले जनाएको छ ।
अनुसन्धानमा ती कर्मचारीहरुले रकम लिई कम्पनीको सेयर ट्रान्सफर गरेको प्रमाणित भएको सीआइबीका प्रवक्ता सानुराम भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार रकम घोटाला काण्डमा अरोपितहरुलाई सरकारी वकिलले १४ जना विरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ ।
रजिष्ट्रार कार्यालयका ६ जना कर्मचारी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को देहाय क बमोजिम जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर हुनेछ । यसैगरी घोटालामा संलग्न ८ जना विरुद्ध ठगि महल अन्तर्गतका जरिवाना र जेल सजायको माग गर्दै मुद्दा दायर हुनेछ ।
सीआइबीले २ उपरजिष्ट्रारद्धय रोकाय र पौडेल फरार रहेको र खोजी कार्य जारी रहेको जनाएको छ । उता कार्यालयमा भने दुबै जना बिदामा बसेको रजिष्ट्रार भुवनहरी अर्यालले बताए । अर्यालले उपरजिष्ट्रारको काम छिट्टै सुरु गर्ने बताए पनि काम अझै सुरु हुन सकेको छैन । काम सुरु नहँदा उपत्यका बाहिरका सेवाग्राही भने समस्यामा परेका छन् ।(विकास न्युजबाट)