२४ भदौ,काठमाण्डौ ।
चार दिनअघि आफ्ना सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको घटनालाई लिएर नेपाली कांग्रेसले आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गर्यो । मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति निकालेर सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाही गर्न माग गरे । काँग्रेस महामन्त्री एवं सांसद गगन थापाले संसदमा उभिएर यादवमाथि भएको सांघातिक आक्रमणको बिरोध जनाए ।
महामन्त्री थापाले काठमाडौंमा हामी एक्लैले हिँड्न नमिल्ने अवस्था आएको हो ? भनि गृहमन्त्री र प्रधानमन्त्रीलाई प्रश्न समेत गरे । तर थापाको आफ्नै पार्टीका एक सांसदले एक प्रहरी अधिकारीलाई नै खुल्लारुपमा ज्यान मार्ने धम्की दिएका छन् । कोशी प्रदेश सभाका ताप्लेजुङका नेपाली कांगे्रेसका सांसद खगेनसिंह हाङगामले प्रहरीविरुद्ध दिएको अभिव्यक्तिका कारण यतिबेला उनीसहित नेपाली काँग्रेससमेत विवादमा तानिएको छ।
सामाजिक संजालमा भाइरल भएको भिडियोमा हाङगाम भन्छन्, ‘नयाँ ड्रेस लगाएको छस् । तेरो बर्दी खोल्न पनि हामी तयार छौँ । कहाँ बस्छस्, के खान्छस्, कस्तो लुगा लगाउँछेस्, तेरो बाउ आमा कहाँ छ, तेरो छोरा छोरी कहाँ छ, त्यो हामी पत्ता लगाएर मार्छौँ । पानी मुनी लुकोस् कि । खबरदार ! सक्छस् भने यहाँ आइज । खेल्न सक्छ भने आइज, तेरो पेस्तोल लिएर आउँछस् कि बर्दी खोलेर आउँछस्, तलाईं बाँकी राख्दिनँ ।
’ सांसद हाङगामले केही दिनअघि जिल्ला प्रहरी कार्यालयका डीएसपी राजन लिम्बू र उनको परिवारका सदस्यलाई लक्ष्य गरी दिएको अभिब्यक्ति हो यो । उनी ताप्लेजुङ प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । भदौ २१ मा फुङलिङमा आयोजित मेलामा सादा पोसाकका प्रहरीले मेला हेर्न आएका स्थानीयलाई जिस्क्याएको निहुँमा सांसद र डीएसपीको प्रतिष्ठाको लडाइँ बनेको हो ।
प्रदेश सांसद हाङगाम पक्षधरले प्रहरीले रातभर सांसदको घर घेरेको दाबी गरेका छन् एकजना प्रहरी जवानले युवतीलाई दुर्व्यवहार गरेको घटना देखेपछि काठमाडौंबाट पाहुनाको रुपमा ताप्लेजुङ आएका व्यक्तिले ‘यो गलत भयो’ भन्दा निर्मम कुटपिट गरेको हाङगामले दाबी गरेका छन् । प्रहरीले भने ताप्लेजुङमा सुरक्षा व्यवस्था बिग्रन नदिन प्रहरीले आफ्नो कर्तव्य पालना गरेको जनाएको छ ।
त्यही क्रममा सांसद हाङगाम र उनी समर्थक युवाले सुरक्षा व्यवस्था खलल गर्न खोजेको बताइएको छ । ताप्लेजुङमा प्रदेश सांसद र प्रहरीबीचको विवाद समाधान गर्न प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा छानबिन समिति गठन भएको छ । यो घटना बाहिर आएपछि हाङगाम विवादमा तानिएका छन् । अर्कातिर गगन थापामाथि सामाजिक संजालमा प्रश्न सोध्नेहरुको ओइरो लागेको छ ।
यता कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने राष्ट्र, जनता र जनप्रतिनिधिको सुरक्षाको जिम्मा लिएको प्रहरीले अनुशासनहीन गुण्डागर्दी र आक्रमण गर्नु अत्यन्त गैरजिम्मेवार कार्य भएको बताएका छन् । त्यस्तै पार्टीका जिम्मेवार जनप्रतिनिधिबाट भएको हिंसात्मक प्रतिरोधको अभिव्यक्ति फिर्ता लिन लगाउन माग गरेका छन् । हाङगामले भने ईटाको जवाफ पथ्थरले दिएको प्रतिक्रिया दिएका छन् ।