Nepal Times
Nepal Times
27
Shares

व्यवस्थापन संकाय पढ्नेलाई रोजगारी पाउन मुस्किल/कसरी बेरोजगार बने ?

व्यवस्थापन संकाय पढ्नेलाई रोजगारी पाउन मुस्किल/कसरी बेरोजगार बने ?

२८ भदौ, काठमाण्डौ ।

विज्ञहरुले विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई रोजगारीसँग जोड्न सरकारले उपयुक्त नीति अवलम्वन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनीहरुले व्यवस्थापन संकायमा विद्यार्थी संख्या बढेपनि उत्पादित जनशक्तिलाई रोजगारसँग जोड्न सरकारले उपयुक्त नीति अवलम्वन गर्न नसकेको बताएका हुन् ।

विद्यार्थीलाई रोजगारसँग जोड्न उद्योगधन्दाको विकास हुनुपर्ने र राज्यले उपयुक्त नीति अवलम्वन गनुपर्नेमा विज्ञहरुको जोड छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्लिराज शर्माले उत्पादित जनशक्तिले सजिलैसँग रोजगारी पाउन नसकेको बताएका छन् । शर्माले विद्यार्थीलाई रोजगारसँग जोड्न उद्योग धन्दाको विकास हुनुपर्ने र राज्यले उपयुक्त नीति अवलम्वन गनुपर्ने बताए ।

उनले विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गरेपनि दक्षताको अभिवृद्धि गर्ने अवसर नपाउँदा विद्यार्थीहरु विदेश पलायन हुन बाध्य भएको बताए ।उनले नेपालमा सञ्चालित उद्योगहरुमा समेत दक्ष र सीपयुक्त जनशक्तिले रोजगार पाउन नसक्नु बिडम्बनाको विषय भएको उल्लेख गरे ।

उनले शिक्षा व्यक्तिको व्यवसायिक मात्रै नभई व्यक्तिगत जीवनशैली र जीवनपद्यतीसँग पनि जोडिएकाले विद्यार्थीको आकर्षण व्यवस्थापन संकायमा बढेको बताए ।विश्वविद्यालयले इन्टर्नसिप वा व्यवहारिक रुपबाट शिक्षालाई जोड्नुपर्ने भएपनि अझै त्यसो हुन नसकेको बताएका छन् ।

शर्माले त्रिविले आँगिक क्याम्पसहरुमा पठनपाठन गर्ने शिक्षकहरुलाई तलव,भत्ताको सुविधा दिने गरेपनि बिबिए, बिबिएम, बिआईएम, बिएचएम लगायतमा अहिलेसम्म दरबन्दीको व्यवस्थापन नभएको बताए । शर्माले व्यवस्थापन संकायका केही कार्यक्रमहरु सेल्फ सस्टेन्स प्रोग्रामको रुपमा सञ्चालन गरिएको हुनाले आँगिक क्याम्पसमै पनि शुल्क केही बढी भएको स्वीकार गरेका छन् ।

उनले सम्पूर्ण भौतिक पूर्वाधारको विकास गर्नेदेखि शिक्षकहरुलाई दिनुपर्ने तलव, भत्ता सुविधा, विद्यार्थीको अतिरिक्त क्रियाकलापमा गर्नुपर्ने सम्पूर्ण खर्चहरु स्वयं कलेजले व्यहोर्नुपरेका कारण पनि शुल्क महँगो हुन गएको स्पष्ट पारेका छन् । अहिले त्रिविअन्तर्गत २ लाख बढी विद्यार्थीहरु व्यवस्थापन संकायमा अध्ययनरत छन् । विद्यार्थीहरुले आफूले अध्ययन पूरा गरेपनि पर्याप्त रोजगारी र अवसर नपाएको गुनासो गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.