काठमाडौं : तेस्रो देशसँग व्यापारका लागि वर्षौंदेखि भारतीय बन्दरगाह प्रयोग गर्दै आएको नेपाललाई चिनियाँ विकल्प खुला भएको छ । यो समाचार आजको कान्तिपुरको पहिलो पृष्ठमा छापिएको छ ।
दुई देशका सहसचिवस्तरीय टोलीको दुईदिने बैठकपछि चीनले नेपाललाई आफ्ना ४ वटा समुन्द्री बन्दरगाह र ३ वटा सुख्खा बन्दरगाह प्रयोगको अनुमति दिएको छ ।काठमाडौंमा बुधबार र बिहीबार चलेको बैठकले सन् २०१६ मा नेपाल र चीनबीच भएको यातायात तथा पारवहन सम्झौताको ‘प्रोटोकल’लाई अन्तिम रूप दिएको हो ।
नेपालले प्रयोग अनुमति पाएको समुद्री बन्दरगाह मुख्यतः दक्षिण कोरिया, जापान, हङकङ, मकाउ, लाओस, भियतनाम र कम्बोडिया नजिक छन् ।नेपालले अहिलेसम्म भारत र चीनबाहेक तेस्रो मुलुकसँग व्यापारका लागि भारतको कोलकाता र विशाखापटनम बन्दरगाह प्रयोग गर्दै आएको छ ।
चिनियाँ बन्दरगाह प्रयोगले नेपाललाई चीन नजिकको देशबाट सामान आयात निर्यातमा सजिलो हुनेछ । नेपालसहित १५ वटा देशसँग चीनको सीमा जोडिएको छ ।