विराटनगर,भदौ २३
मानव अधिकारको संरक्षण, संवद्र्धन र प्रवर्दनकालागि प्रदेश नं. १ मा कार्यक्षेत्र बनाएर कार्य गर्दै आएको मानव अधिकार सञ्जालको अध्यक्षमा डिकप्रसाद घिमिरे चयन भएका छन् ।
सञ्जालको बैठकले एम्नेस्टि इन्टरनेश्नल नेपालका पूर्व महासचिवको रुपमा काम गरिरहेका घिमिरेको नेतृत्वमा कमिटि चयन गरेको हो ।सामाजिक संघसंस्था र मानव अधिकारको क्षेत्रमा काम गरिरहेका संस्था र व्यक्तिहरु प्रति लागिरहेको आरोप र आक्षेपहरुलाई कम गर्न नयाँ योजनाका साथ काम गर्ने अध्यक्ष घिमिरेले बताए ।
उनले भने, ‘केही भ्रमहरु छन् त्यसलाई चिर्दै रचनात्मक काम गर्ने संघसंस्थाहरुलाई राज्यको असल साझेदारको रुपमा काम गर्ने प्रेरित गर्नेछु ।’अध्यक्ष घिमिरेले सरोकारवाला र अधिकारवालाको बीचमा पुलको काम गर्न सञ्जालले निर्वाह गरिरहेको भूमिकालाई थप परिस्कृत गर्दै प्रभावकारी ढंगले अगाडि बढाउने बताए ।
अध्यक्ष घिमिरे गैसस महासंघ नेपाल एक नम्बर प्रदेश समितिका सदस्यसमेत छन् ।स्थापना अवधिदेखि हालसम्म करिब १३ वर्ष विराटनगरका सोमराज थापाले सञ्जालको नेतृत्व गरेका थिए । यसपालि भने सञ्जालले नयाँ नेतृत्व चयन गरेको हो ।