९ असोज, एजेन्सी ।
रुसले बालकालिकाहरूलाई हतियारबारे विद्यालयमै ज्ञान दिन थालेको छ । सीएनएनको रिपोर्टअनुसार रुसले बालबालिकाहरूलाई सानैबाट युद्धका लागि तयार गर्न बन्दुक चलाउन र बम पड्काउन सिकाइरहेको हो । रुसले गत अगष्ट महिनाबाट मात्र पाठ्यक्रम परिवर्तन गरेको छ ।
रुसले इतिहास पुस्तक अनिवार्य गरेको छ, जहाँ सानैबाट बालबालिकालाई देशभक्तिबारे शिक्षा दिइनेछ, देशको रक्षा गर्न सिकाइनेछ । इतिहास पुस्तकमा सन् २०२२ बाट सुरु भएको युक्रेनमा रुसी आक्रमणलाई जायज भनिएको छ । रुसले युक्रेनमा आक्रमण गरेयता रुसका विद्यालयमा सैन्यीकरण पनि बढ्दै गएको छ ।
सीएनएनको रिपोर्टले दाबी गरेअनुसार ७ देखि ८ वर्षका बालबालिकालाई सैन्य प्रशिक्षण दिन थालिएको छ । उनीहरूलाई बन्दुक र मेसिनगन चलाउन सिकाइएको छ भने युद्धको स्थितिमा के गर्ने भनेर पनि सिकाइँदैछ । बालबालिकाहरूलाई दैनिक सैन्य पोशाकमा विद्यालयमा उपस्थित गराइन्छ भने उनीहरूलाई परेड पनि खेलाइन्छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पहिल्यैदेखि बाल सेना तयार गरेको आरोप लाग्ने गरेको थियो । युक्रेनमा युद्ध सुरु हुनुअघि नै पुटिनले १६ वर्षका किशोरहरूलाई सेनामा भर्ती गराउने कार्य गरिएको मानव अधिकारवादी संगठनहरूले आरोप लगाएका थिए ।
सन् २०२२ को फेब्रुअरी २४ यता रुसले युक्रेनमा आक्रमण गरिरहेको छ । मस्कोले युक्रेनमा गरिएको आक्रमणलाई विशेष सैन्य अभियान भएको बताउँछ । युक्रेनलाई केही समयमै कब्जा गर्ने लक्ष्य राखेको रुसले ५८० दिनयता युक्रेनमा युद्ध लडिरहेको छ ।
पश्चिमा राष्ट्रहरूबाट लगातार हतियार पाइरहँदा युक्रेनले रुसलाई रोक्न सकिरहेको हो । यस्तोमा युद्ध लामो समयसम्म चल्न सक्छ, जस कारण हालका बालबालिकालाई युद्ध कौशल सिकाइए र बालबालिकामा देशभक्तिको भावना जगाउन सकिए उनीहरूले भविष्यमा युक्रेनविरुद्धको युद्ध सहजै लड्नेछन् ।