Nepal Times
Nepal Times
252
Shares

एमाले अधिवेशनमा उम्मेदवारले नै मतदान गरेनन्

एमाले अधिवेशनमा उम्मेदवारले नै मतदान गरेनन्

१६ असोज,काठमाण्डौ ।
नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट खतिवडाले अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई पराजित गरे । खतिवडा र ढकालबीचकोे मतान्तर ८२ छ । विजयी भएका खतिवडाले ५१२ मत प्राप्त गरे । ढकालले ४३० मत प्राप्त गरे । प्रदेश कमिटीको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भए ।

उनी यसअघि पनि प्रदेशको उपाध्यक्ष थिए । सचिवमा पाँचथरका राजकुमार भण्डारी निर्वाचित भएका छन् । ५२४ मत ल्याएर विजयी भण्डारी विजयी हुँदा अर्का उम्मेदवार उदयपुरका शैलेश लामाले ३८१ मत प्राप्त गरे । भण्डारी खतिवडा प्यानलबाट उम्मेदवार भएका थिए । उपसचिवमा झापाकी जलवर्षा राजवंशी ६२८ मत र खोटाङका देवान राई ६१० मत ल्याएर निर्वाचित भएका छन् ।

दुवैजना नै खतिवडा प्यानलका हुन् । उपसचिवका अर्का उम्मेदवार मोरङका खेम नेपालीले ३९८ मत ल्याए । आइतबार राति भएको निर्वाचनमा ९७७ मत खसेको थियो । पार्टी अध्यक्ष पदमा खतिवडा र ढकालबीच प्रतिस्पर्धा भएको यो दोस्रोपटक थियो । २०६६ मा उनीहरु मोरङ अध्यक्षमा पहिलोपटक आमनेसामने बन्दा विनोद ढकाल विजेता बनेका थिए ।

जिल्ला अध्यक्षमा प्रतिस्पर्धा गरेको १४ वर्षपछि उनीहरू प्रदेश अध्यक्षमा आमनेसामने भएका हुन् । तर त्यसबेला ढकाल जिल्लामा विजेता बन्दा उनलाई हालका पार्टी अध्यक्ष केपी शर्मा ओलीको साथ थियो । यसपटक भने ओली र उनको समूहको साथ खतिवडालाई थियो ।

ओली निकटका प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने बहुसंख्यक नेताहरुको साथ पाएका मोरङ लेटाङका खतिवडाले अब ३ वर्ष प्रदेश पार्टीको नेतृत्व गर्नेछन् । खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद्समेत हुन् । विनोद ढकाल भने पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी निकट मानिन्छन् ।

ढकाल यसअघि प्रतिनिधिसभा निर्वाचनमा पनि मोरङ ४ बाट पराजित भएका थिए । ढकालका विपक्षमा नेतृत्वविरुद्धको गुट भनेर प्रचार गरिएको उनी पक्षीय नेता कार्यकर्ताहरुले आरोप लगाएका छन् । एमाले नेतृत्वले अन्य प्रदेश जस्तै कोशीमा पनि सहमतिका साथबाटै नेतृत्व चयन गर्ने प्रयास गरेको थियो । यसैबीच अधिवेशनमा उम्मेदवार स्वयं नै मतदानमा सहभागी नभएको पाइएको छ ।

पार्टीको अधिवेशनमा प्रतिनिधि भएर मतदान गर्न अधिवेशन हलमा उपस्थित भएपनि मतदान नगर्ने कार्यकर्ताहरुको खोजी गर्ने क्रममा उम्मेदवार र जिम्मेवार नेताहरुले नै मतदान नगरेको पाइएको हो । कुल ९९७ प्रतिनिधिमध्ये २० जनाले मतदान नगरेपछि कार्यकर्ताहरुले उनीहरुको पहिचान गरी नाम सार्वजनिक माग गर्दै सामाजिक सञ्जाल रंग्याउन थालेपछि खोजी सुरु भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.