काठमाडौँ, भदौ २३
बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसीप फुटबलअन्तर्गते बङ्गलादेशविरुद्धको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । खेल आज साँझ ६ः ४५ बाट सुरु हुनेछ ।
नेपालले भुटानविरुद्ध खेलेका दुई खेलाडीलाई सुरुवाती खेलाडीमा नराखेको हो ।आज हुने बङ्गलादेशविरुद्धको खेलमा पनि गोलकिपर किरण चेम्जोङले कप्तानी सम्हाल्नेछन् ।
नेपालले आज अन्जन विष्टको स्थानमा भरत खवास र विशाल राईको स्थानमा निराजन खड्कालाई टोलीमा राखेको नेपाली प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिए । मुख्य प्रशिक्षक महर्जनले आजको खेलमा नेपाली टोलीलाई चार, चार, दुईको ढाँचामा खेलाडी मैदान उतार्ने बताएका छन् ।
नेपाली टोलीमा गोलकिपर किरण चेम्जोङ, डिफेन्डरमा सुमन अर्याल, अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, मिडफिल्डरमा रोहित चन्द, निराजन खड्का, सुजल श्रेष्ठ, सुनिल बल र फरवार्डमा विमल घर्तीमगर तथा भरत खवास छन् ।
बङ्गलादेशविरुद्ध विगतको नतिजा हेर्ने हो भने नेपालको पक्षमा छैन । साफ च्याम्पियनसिपमा बङ्गलादेशविरुद्ध छ पटक प्रतिष्पर्धा गरिसकेको नेपालले चारमा पराजित र दुईमा जित हासिल गरेको छ । सेमिफाइनलमा स्थान बनाउन नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।