१० कार्तिक, काठमाण्डौ ।
आयोजक नेपालसँग दुई पटक पराजित भएपछि फाइनलमा नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिज जितेको छ । उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले अन्तिम बल खेल्नु अघि ६ विकेट गुमाएर भेट्टायो । यसअघि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो ।
नेपालको सुरुवात ठीकै थियो । पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । मलेसियामा यू–१९ प्रिमियर कप खेलेर फर्किएका आयात अफजल खानले आफ्नो पहिलो ओभरको छैटौं बलमा शेखको विकेट लिए । उनी मात्र ७ रनमा आउट भए ।
आक्रमक पारी खेलिरहेका कुशललाई साथ दिएको कुशल मल्ल मात्र १ रनमा आउट भए । कुशल पनि अर्धशतक बनाए लगतै आउट भए, जतिबेला नेपालको स्कोर ६८÷३ थियो । कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले नेपालको पारी सम्हाल्ने प्रयास गरे । दुवैले चौथो विकेटका लागि ४० रनको साझेदारी गरे । तर, १३औं ओभरमा दुवै आउट भए ।
रोहित १८ र ऐरी २० रनमा पभेलियन फर्किएका हुन् । सन्दीप जोरा १०, गुल्सन झा ५ र सोमपाल कामी १३ रनमा आउट भए । करण केसी २३ रनमा अवजित रहे । यूएईका आयान खानले तीन विकेट लिंदा अली नासीर र जाहुर खानको नाममा २–२ विकेट रह्यो । नेपालको यही श्रृंखलामै यूएईमाथि लगातार तेस्रो जितसहित उपाधि जित्ने लक्ष्य भने अधुरै रहेको छ ।
नेपालले दुवै टिमसँगका चार खेल जितेर अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो । यूएईले भने हङकङसँग बराबरी गरेको भए पनि रनरेटमा अगाडि रहेसँगै फाइनलमा पुगेको थियो । यसअघिको खेलमा यूएईले हङकङलाई हराएको थियो भने बुधबार भएको अन्तिम खेलमा हङकङले यूएईलाई ६९ रनले हरायो ।
लिग चरणमा नेपालले यूएईलाई ५ विकेटले र ७ विकेटले हराएको थियो भने हङकङलाई ७९ रन र ६ विकेटले हराएको थियो । अर्को सातादेखि काठमाडौंमा सुरु हुने टी–२० विश्वकप छनोटअघि नेपालले युएई र हङकङविरुद्ध टी–२० सिरिज खेलेको हो।
विश्वकप छनोटमा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा सिंगापुर, मलेसिया र ओमान छन्। नेपालले पहिलो खेल सोमबार सिंगापुरसँग त्रिवि मैदानमै खेल्नेछ। समूहका दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल जित्ने दुई आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछन्।