१० कार्तिक, एजेन्सी ।
चीन अधिनस्त हङकङ सरकारले करिब १८ वर्षपछि नेपालीका लागि भिसा खुलाएको छ। भिसा खुलेसँगै अब नेपालीले हङकङमा रोजगारी र अध्ययनको अवसर पाउनेछन् । हङकङ सरकारले नेपालीलाई रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बनाइएको छ। सन् २००५ मा भिसा रोकिएपछि हङकङमा नेपालीलाई प्रवेश कठिन भएको थियो।
चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका प्रमुख कार्यकारी जोन लीले बुधबार आफ्नो नीति सम्बोधनमा नेपाली ट्यालेन्टहरूका लागि हङकङ प्रवेशको मापदण्डमा छुट दिइएको घोषणा गरेका हुन्। एक वर्षदेखि हङकङको प्रमुख कार्यकारी रहेका लीको यो दोस्रो नीति सम्बोधन हो, जसमा उनले नेपाल, भियतनाम र लाओसबाट आउने प्रतिभाहरूका लागि भिसाको मापदण्डमा छुट दिइने उल्लेख गरेका छन्।
जोन लीले आफ्नो नीति सम्बोधनको ५७ नम्बरको तेस्रो बुँदामा भनेका छन्, ‘हामी नेपाल र लाओसका प्रतिभाहरूलाई रोजगारी, तालिम र विश्वविद्यालय अनुदान कोषबाट सञ्चालित संस्थानहरूमा अध्ययनका लागि भिसा नीति खुकुलो बनाउने छौँ।’ यो नयाँ नीतिसँगै अब नेपाली इन्जिनियर, मेडिकल डाक्टर, आइटी क्षेत्रका कामदार लगायतका प्रतिभाहरूले हङकङमा सहजै रोजगार भिसा पाउने छन्।
साथै नेपालीले जुनसुकै क्षेत्रको तालिमका लागि पनि अब हङकङको भिसा पाउने छन्। तर दक्षता हासिल गरेका बाहेक घरेलु कामदार र अरु कामदारका लागि भने हङकङले भिसा दिने छैन ।सन् २००५ मा नेपाली कामदारका लागि भिसा रोकिएपछि हङकङमा रोजगारका लागि नेपालीको प्रवेश बन्द भएको थियो।
त्यसअघि हङकङमा खासगरी घरेलु कामदार र रेष्टुरेन्ट क्षेत्रमा नेपालीले रोजगारी पाउँदै आएका थिए। हङकङमा ब्रिटिश गोर्खा सैनिक परिवारका करिब ४० हजार नेपाली बसोबास गर्दै आएका छन्, जो हङकङका स्थायी बासिन्दा हुन्।