१२ कार्तिक, एजेन्सी ।
संयुक्त राष्ट्र संघको शान्ति मिसनमा खटिएका एकजना नेपाली सैनिक इजरायलसँगको सीमावर्ती दक्षिणी लेबनानमा गोली लागेर घाइते भएका छन् । घाइते हुने नेपाली सैनिकको नाम र ठेगाना भने खुलाइएको छैन । दक्षिणी लेबनानमा संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा खटिएका ती नेपाली शान्ति सैनिक घाइते भएका हुन् । त्यस क्षेत्रमा हिज्बुल्लाह सक्रिय छ ।
इरान समर्थित उक्त सिया इस्लामिस्ट राजनीतिक पार्टी तथा अर्धसैनिक संगठन–इजरायलबीच ७ अक्टोबरयता कैयनपटक रकेट हानाहाना भएको छ । त्यहाँ विकसित हुन सक्ने तनावलाई लिएर अमेरिकासहितका पश्चिमा देशहरूले आफ्ना नागरिकलाई देश छाड्न भनिसकेका छन् । त्यहाँ झण्डै १० हजार नेपाली श्रमिकहरू समेत काम गर्छन् ।
संयुक्त राष्ट्र संघको अन्तरिम बल, लेबनानका प्रवक्ता एन्ड्रिया टेनेन्टीले गोली लागेर एकजना नेपाली सैनिक सामान्य घाइते भएको जानकारी दिएका छन् । लेबनानको आधिकारिक राष्ट्रिय समाचार संस्था नेशनल न्यूज एजेन्सी (एनएनए) ले पनि नेपाली शान्ति सैनिकको पेट र हातमा गोली लागेको जनाएको छ ।
गाजा क्षेत्रमा इजरायल र हमासबीच तनाव चलिरहेका बेला इजरायलसँगै सीमा जोडिएको लेबनानमा यो घटना भएको हो । जहाँ इजरायल प्रतिरक्षा फौज (आईडीएफ) र लेबनानको लडाकु समूह हिजबुल्लाहबीचको द्वन्द्वका क्रममा नेपाली शान्ति सैनिक घाइते भएका नेपाली सेनाले जनाएको छ ।
यही अक्टोबर २८ तारिख राति १० बजेर २० मिनेट (स्थानीय समय)मा उक्त घटना भएको हो । दुई पक्षबीचको आक्रमणका क्रममा प्रहार गरिएको सम्भावित ‘मोर्टार सेल’को ‘चोइटा’ले उनी घाइते भएको बताइएको छ । लेबनानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकको गणमा मोर्टार सेलको ‘चोइटा’ खसेको थियो ।
सबै शान्ति सैनिक बंकरभित्र बसेका थिए ।घाइतेको शान्ति सैनिककै गणको अस्पतालमा उपचार गर्दा अवस्था खतरामुक्त रहेको नेपाली सेनालाई जानकारी प्राप्त भएको सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए । उनका अनुसार त्यसक्रममा शान्ति सैनिकका एउटा बंकर र एउटा गाडीमा सामान्य क्षति पुगेको छ ।
त्यसबाहेक शान्ति सैनिक र गणमा कसैलाई केही नभएको उनले बताए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ती नेपाली शान्ति सैनिकको पेट र हातमा सामान्य चोट लागेको जनाएका छन् ।