१२ कार्तिक,एजेन्सी ।
आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत सोमबारदेखि एसिया छनोट सुरु हुँदैछ। टी–२० विश्वकपको आगामी संस्करण २०२४ को जूनमा अमेरिका र वेस्ट इन्डिजमा हुने भएको छ । त्यसका लागि एसिया क्षेत्रको छनोट प्रतियोगिता नेपालमा यही अक्टोबर ३० भोलि सोमबारबाट हुँदैछ । मूलपानी र कीर्तिपुर मैदानमा हुने खेलहरुमा नेपालसहित आठ वटा देशले भाग लिनेछन् ।
८ टिमलाई दुई समूहमा राखेर खेलाइने छ भने दुवै समूहका शीर्ष दुई टीम सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा पुग्ने दुई टीम विश्वकपका लागि छनोट हुनेछन् । नेपालको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया रहेका छन् ।
समूह ‘बी’मा यूएई, हङकङ, कुवेत र बहराइन रहेका छन् । समूह ‘ए’बाट नेपाल र ओमान तथा समूह ‘बी’बाट यूएई र हङकङ सेमिफाइनलका दावेदार हुन् । दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। दुवै सेमिफाइल जित्ने टिमले विश्वकपमा स्थान पक्का गर्नेछन्।
नेपालको खेल तालिका यस्तो छः
नेपाल भर्सेस सिंगापुर – कात्तिक १३– त्रिवि मैदान – विहान ९ बजे
नेपाल भर्सेस मलेसिया – कात्तिक १४ – त्रिवि मैदान – दिउँसो १ः१५ बजे
नेपाल भर्सेस ओमान – कात्तिक १६ – त्रिवि मैदान – विहान ९ बजे
सेमिफाइनल १ (त्रिवि मैदान), सेमिफाइनल २ (मुलपानी) – कात्तिक १७ – विहान ११ बजे
फाइनल – कात्तिक १९– त्रिवि मैदान – विहान ११ बजे
नेपाल उपाधिको दावेदारसमेत हो । नेपालले आफ्ना सबै खेलहरु कीर्तिपुर मैदानमा खेल्नेछ । नेपालको पहिलो म्याच भोलि नै सिंगापुरविरुद्ध छ । भोलिका खेलमा नेपालका तर्फबाट रोहित पौडेलको कप्तानीमा नेपाली टिम मैदानमा उत्रिनेछ ।
जसमा कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनास बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी रहेका छन् । भर्खरै सम्पन्न त्रिदेशीय श्रृखंलामा मैदान बाहिर रहेका सन्दीप लामिछानेले विश्वकप छनौट खेल्नेछन् ।
अदालतमा जारी मुद्दाको फैसलामा ढिलाइ हुँदा तनावमा रहेका सन्दीपले त्रिकोणात्मक श्रृंखला नखेल्ने निर्णय लिएका थिए । प्रतियोगिताअघि उनले परिवारसँग समय बिताउन चाहेको भन्दै राष्ट्रिय टिमबाट नाम फिर्ता लिएको घोषणा गरेका थिए ।
सन्दीपको अनुपस्थितमा त्रिकोणात्मक सिरिजमा नेपालको स्पिन आक्रमण केही फितलो देखिएको थियो । काठमाडौं जिल्ला अदालतमा विचाराधीन सन्दीपको मुद्दाको आगामी पेशी कार्तिक २३ गतेलाई तोकिएको छ । त्योभन्दा अगाडि नै विश्वकप छनोट प्रतियोगिता सम्पन्न भइसक्ने भएकाले सन्दीपको खेल प्रभावित हुनेछैन् ।