Nepal Times
Nepal Times
135
Shares

गाजामा दोस्रो चरणको युद्ध शुरु

गाजामा दोस्रो चरणको युद्ध शुरु

१२ कार्तिक,एजेन्सी ।

इजरायलले गाजामा भइरहेको आक्रमणलाई झनै तीव्र बनाएको छ । राष्ट्रसंघमा युद्धविरामको प्रस्ताव पारित भएपनि इजरायलले गाजामा दोस्रो चरणको युद्ध शूरु भएको घोषणा गरेको छ । स्थलगत माध्यमबाट गाजा क्षेत्र पुगेर हमासको सुरुङमा आक्रमण शुरु गरेसँगै आक्रमणलाई थप तीव्र बनाएको छ ।

त्यहाँ इन्टरनेट र फोन सेवा बन्द भएपछि गाजाका मानिसहरूको बाँकी विश्वसँगको सम्पर्क टुटेको छ । सेनाले आक्रमण बढाएसँगै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास विरुद्ध दोस्रो चरणको युद्ध शुरु भएको घोषणा गरेको बीबीसीले जनाएको छ । तर यो युद्ध निकै कठिन रहेको उनको भनाइ छ ।

मानवीय सहायतासम्बन्धी निकायहरूले गाजाको अवस्था भयावह रहेको चेतावनी दिएका छन् । सञ्चार सम्पर्क हुन नसकेका कारण गाजाको यथार्थ अवस्थाबारे जानकारी आउन सकेको छैन । तर उत्तरी भागमा लगातार आक्रमण भइरहेका भिडिओहरू सार्वजनिक भएका छन् ।

प्यालेस्टाइनी लडाकुलाई परास्त गर्ने इजरायली सेनाको घोषित अभियानमा गाजापट्टीमा हमासको सुरुङको विशाल सञ्जाललाई मुख्य निसाना बनाइएको विज्ञले बताएका छन् । इजरायली सेनाले शुक्रबार गाजामा रातको समयमा १५० ‘भूमिगत लक्ष्य’मा आक्रमण गरेको र त्यसले ‘आतंकवादीको सुरुङ’ र ‘जमिनमुनिका लडाकु स्थानहरू’ ध्वस्त पारेको तथा हमासका लडाकुहरू मारिएका जनाएको छ ।

अक्टोबर ७ मा हमासले आक्रमण गरेपछि इजरायलले गाजामा आक्रमण गरिरहेको छ । अहिलेसम्म दुवैतर्फ गरी नौ हजारभन्दा धेरै मानिस मारिएका छन् । यसैबीच राष्ट्रसङ्घीय महासभाको आपत्कालीन विशेष शत्रले अरब देशहरूका तर्फबाट प्रस्ताव गरिएको मानवीय सहायताका लागि गाजामा युद्धविरामको प्रस्तावलाई बहुमतले पारित गरेको छ ।

नेपालसहित एक सय २० देशहरू त्यस प्रस्तावको पक्षमा रहे पनि पश्चिमा देशहरू त्यसक्रममा विभाजित देखिएका छन् । अमेरिकाले प्रस्तावको विपक्षमा मतदान गर्यो । चीनले पक्षमा मतदान गरेको छ । बेलायत सहभागी भएन भने भारत तटस्थ रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.