१२ कार्तिक,एजेन्सी ।
भारतीय आँपको मिठास विश्वभर बढ्दै गएको छ । आर्थिक वर्ष २०२३–२४ को अप्रिल देखि अगष्टमहिनामा भारतबाट विदेशमा निकासी हुने आँपमा १९ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा भारतले कुल ४७.९८ मिलियन डलर बराबरको आँप निकासी गरेको छ । जबकि २०२२–२३ को सोही अवधिमा भारतले कुल ४ करोड ३३ लाख अमेरिकी डलर बराबरको आँप निकासी गरेको थियो ।
वाणिज्य मन्त्रालयले भारतबाट हुने आँपको तथ्यांक सार्वजनिक गरेको छ । कृषि तथा कृषक कल्याण मन्त्रालयसँगको सहकार्यमा एपिडाले २०२३ को अप्रिल देखि अगष्टमहिनासम्म कुल २७ हजार ३३० टन आँप निकासी गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा २२ हजार ९६३ दशमलव ७८ टन रहेको मन्त्रालयले जनाएको छ ।
यो पाँच महिनामा सबैभन्दा बढी आँप अमेरिका निर्यात भएको छ । अमेरिकामा कूल २०४३ दशमलव ६० टन आँप निकासी भएको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशतले बढी हो । यसबाहेक जापानमा ४३ टन, दक्षिण अफ्रिकामा ४ दशमलव ४४ टन, अष्ट्रेलियामा ५८ दशमलव ४२ टन र न्युजिल्याण्डमा १११ टन आँप निकासी भएको छ ।
यसबाहेक इरान, नाइजेरिया, चेक गणतन्त्र, मौरिससमा निर्यात हुने गरेको छ । कृषि तथा कृषक कल्याण मन्त्रालय र एपेडाले संयुक्त रुपमा दक्षिण कोरियाबाट निकासीका लागि निरिक्षक बोलाएको थियो । जसका कारण भारतले दक्षिण कोरियामा १८ दशमलव ४३ मेट्रिक टन आँप निकासी गर्न अनुमति दिएको थियो ।
२०२२–२३ मा आँपको निर्यातमा ठूलो सफलता हात पारेको मन्त्रालयले जनाएको सिन्ह्वाले उल्लेख गरेको छ । चालू सिजन २०२३ मा भारतले ४१ देशमा आँप निकासी गरेको छ । एपिडाले भारतको स्वतन्त्रताको ७५ वर्षको उपलक्ष्यमा भारतीय आँपको निर्यात प्रवर्द्धन गर्न सियोल फुड एण्ड होटल शोमा पनि भाग लिएको थियो। एपिडाको प्रयासले ७५ थरीका आँप निर्यात हुन सकेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।