१८ कार्तिक,विराटनगर ।
आफैले समर्थन गरेर बनाएको कोशी प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ । एमालेबाट पहिलो चरणमै मन्त्री बनेका रामबहादुर राना मगरले शनिबार बिहान पदबाट राजीनामा दिएका छन् । यससंगै एमाले कोशी सरकारबाट बाहिरिएको हो । राना असोज २७ गते नै विनाविभागीय मन्त्री बनेका थिए ।
शुक्रबार साँझ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट मन्त्री थप भएपछि एमालेले सरकारबाट बाहिरिने निर्णय लिएको थियो । सोहीबमोजिम शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई भेटेर मन्त्री रानाले राजीनामा बुझाएका हुन् । मुख्यमन्त्री कार्कीले आफूहरूको सहमति विपरीत सरकार विस्तार गरेको भन्दै एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो ।
मुख्यमन्त्री कार्कीले आफ्नो सहमतिबिना केन्द्रीय गठबन्धन ब्यूँत्याएको र त्यो आफ्ना लागि मान्य नभएकाले सरकारबाट बाहिरिएको कोशीका एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बताए । कोशीमा कांग्रेसले माओवादीका इन्द्र आङ्बोलाई समर्थन गरेपछि असन्तुष्ट कार्की एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
तर केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरुले पनि कार्कीलाई विश्वासको मत दिएपछि पूरानै गठबन्धन कायम भएको हो । यसअघि जनता समाजवादी पार्टीले पनि कोशी प्रदेश सरकारमा सहभागी नहुने निर्णय लिएको छ । मंगलबार नै इटहरीमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको पार्टीका प्रदेश अध्यक्ष दीपक याक्खाले जानकारी दिए ।
यद्यपी कोशी प्रदेश सरकारलाई जसपाको समर्थन रहेको छ । कांग्रेसका विद्रोही र एमालेको समर्थनमा असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले २८ गते एमालेका उपनेता रामबहादुर मगर र कांग्रेसका शम्शेर राईलाई विनाविभागीय मन्त्री नियुक्त गरेर पद तथा गोपनीयताको सपथ लिएका थिए ।
४७ प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका उनले कार्तिक १ गते विश्वासको मत लिँदा ९३ सदस्यीय प्रदेशसभामा उपस्थित ९१ प्रदेश सांसदमध्ये एमाले र गठबन्धनका ८६ सांसद विश्वासको मतको पक्षमा र राप्रपाका ५ सांसद विपक्षमा मतदान गरेका थिए ।