Nepal Times
Nepal Times
126
Shares

विश्वकपमा अस्ट्रेलियन ब्याट्सम्यानको दबदबा /ग्लेन म्याक्सवेल र मिचेल मार्स हाई स्कोरर

विश्वकपमा अस्ट्रेलियन ब्याट्सम्यानको दबदबा /ग्लेन म्याक्सवेल र मिचेल मार्स हाई स्कोरर

२७ कार्तिक, एजेन्सी ।
घरेलु टोली भारत जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ । भारत ९ खेलमा १८ अंकका साथ शीर्षस्थानमा छ । दक्षिण अफ्रिका ९ खेलमा ७ मा जित र २ मा हारसहित १४ अंकका साथ दोस्रो स्थानमा रह्यो । अष्ट्रेलिया ९ खेलमा १४ अंक भएपनि नेटरनरेटका कारण तेस्रो स्थानमा छ ।

न्युजिल्यान्ड ९ खेलमा ५ मा जितसहित १० अंकका साथ अन्तिम चारमा रहेको छ । यी चार टोलीमध्ये एउटै खेलमा उच्च स्कोर बनाउने ब्याट्सम्यानको सूचिमा भने अस्ट्रेलियन खेलाडीको दबदबा रहेको छ । प्रारम्भिक चरणको ४५ खेल सकिँदासम्म उच्च स्कोर बनाउने ब्याट्सम्यानको पहिलो र दोस्रो स्थानमा अस्ट्रेलियन खेलाडी छन् ।

यो सूचिको पहिलो स्थानमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल छन् । उनले प्रारम्भिक चरणको अफगानिस्तानविरुद्धको खेलमा अविजित दुई सय एक रन बनाएका थिए । उनको अविश्वासिलो प्रदर्शनका कारण त्यो खेलमा अस्ट्रेलिया विजयी हुँदै सेमिफाइनलमा पुगे को थियो । त्यो खेलमा उनले एक सय २८ बलको सामना गरी १५७.०३ को स्ट्राइक रेटमा रन बनाएका थिए ।

उनले १० छक्का र २१ वटा चौका पनि हिर्काएका थिए । मुम्बईस्थित वानखेड स्टेडियममा अफगानिस्तानले दिएको दुई सय ९२ रनको विजय लक्ष्य पछ्याउँदै अस्ट्रेलिया जवाफी ब्याटिङमा ओर्लिएको थियो । खेलको प्रारम्भमा अत्यन्तै निरीह अवस्थामा रहेको अस्ट्रेलियाले केवल ९१ रनको कुल स्कोरमा सात प्रभावशाली विकेट गुमाइसकेको थियो ।

त्यतिबेलासम्म अस्ट्रेलिया हारको सँघारमा पुगिसकेको थियो । क्रिजमा थिए, छैटौँ नम्बरका ब्याट्सम्यान म्याक्सवेल र कप्तान प्याट कुमिन्स । ३५ वर्षीय म्याक्सवेल आफै घाइते अवस्थामा थिए । केही दिनअघि गल्फ खेल्नेक्रममा उनलाई चोट लागेको थियो । सोही कारणले उनले इङ्ल्यान्डविरुद्धको खेल पनि गुमाएका थिए ।

त्यसैले अफगानिस्तानविरुद्ध उनले गतिलो प्रदर्शन गर्नेमा कोही पनि विश्वस्त थिएन । तर, त्यो खेलमा म्याक्सवेलले जे गरेर देखाए त्यो विश्व क्रिकेटका थुप्रै हस्तीहरूकै लागि पनि अविश्वासिलो थियो । त्यो खेलमा म्याक्सवेलले थुप्रै कीर्तिमानबिच अविजित रहँदै दोहोरो शतक प्रहार गर्दै अस्ट्रेलियालाई तीन विकेटको जित दिलाएका थिए ।

जितसँगै अस्ट्रेलिया जारी विश्वकपको सेमिफाइनलमा पुग्ने तेस्रो टोली पनि बनेको थियो । यसैगरी एउटै खेलमा उच्च स्कोर बनाउने ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा पनि अस्ट्रेलियाकै मिचेल मार्स रहेका छन् । उनले बंगलादेशविरुद्धको खेलमा अविजित एक सय ७७ रन बनाएका थिए । त्यो खेलमा उनले एक सय ३२ बलको सामना गरी नौ छक्का र १७ वटा चौका हिर्काएका थिए ।

उनको स्ट्राइक रेट १३४.०९ रहेको थियो । यो सूचिमा तेस्रो स्थानमा दक्षिण अफ्रिकाका क्विन्टन डी कक रहेका छन् । उनले पनि बंगलादेशविरुद्धको खेलमा एक सय ४० बलको सामना गरी एक सय ७४ रन बनाएका थिए । यो खेलमा उनको स्ट्राइक रेट १२४.२८ रहेको थियो । उनले सात छक्का र १५ वटा चौका पनि प्रहार गरेका थिए ।

एउटै खेलमा उच्च स्कोर बनाउने ब्याट्सम्यानको सूचिमा चौथो स्थानमा अस्ट्रेलियाका डेविड वार्नर रहेका छन् । उनले पाकिस्तानविरुद्धको खेलमा एक सय २४ बलको सामना गरी एक सय ६३ रन बनाएका थिए । उनको स्ट्राइक रेट १३५.४५ रहेको थियो । त्यसक्रममा उनले नौ छक्का र १४ वटा चौका पनि हिर्काएका थिए ।

यसैगरी यो सूचिको पाँचौँ स्थानमा न्युजिल्यान्डका ब्याट्सम्यान डेभोन कनवे रहेका छन् । उनले इङ्ल्यान्डविरुद्धको खेलमा एक सय २१ बलको सामना गरी अविजित एक सय ५२ रन बनाएका थिए । त्यो खेलमा उनको स्ट्राइक रेट १२५.६१ रहेको थियो । त्यसक्रममा उनले तीन छक्का र १९ वटा चौका पनि प्रहार गरेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.