३० कार्तिक,एजेन्सी ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच अमेरिकामा भेटवार्ता भएको छ । सो क्रममा चीन र अमेरिका दुईपक्षीय उच्चस्तरीय सैन्य सञ्चार सम्पर्क पुनर्स्थापना लगायत विभिन्न महत्त्वपूर्ण बुँदामा सहमत भएका छन् । साथै लागुऔषधको तस्करी तथा आर्टिफिसियल इन्टेलिजेन्सको तनाव कम गर्ने बारेमा पनि दुई शीर्ष नेताबीचको भेटमा कुराकानी भएको छ ।
बाइडेनले सान फ्रान्सिस्कोबाट करिब ३० किलोमिटर दक्षिणमा रहेको फिलोली इस्टेटमा चिनियाँ राष्ट्रपतिलाई स्वागत गरेका थिए । सीलाई अमेरिकामा स्वागत गर्न पाउँदा गौरव र खुसी लागेको बाइडेनले बताए । सीले प्रतिक्रियामा हाम्रो भेटका लागि यो महान् धर्ती नै पर्याप्त रहेको भने । दुई देशबीच धेरै भिन्नता भए पनि मित्रता कायम गर्न उत्तिकै सक्षम रहेको टिप्पणी उनले गरे ।
यस्तै बाइडेनले अमेरिका र चीनबीचको प्रतिस्पर्धा कुनै पनि किसिमको द्वन्द्वमा परिणत नहोस् भन्ने कुरामा आपसी सम्बन्ध सुनिश्चित गर्नुपर्ने बताएका छन् । यस्तै यसै महिना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलनअघि चीन र अमेरिका जलवायु सहयोगमा केन्द्रित एउटा कार्य समूह गठन गर्न सहमत भएका छन् ।
दुवै सरकारले ऊर्जा सङ्क्रमण, मिथेन, स्रोत दक्षता, कम कार्बन, वन विनाश र दिगो प्रान्त÷सहरमा ध्यान केन्द्रित गर्ने बताएका छन् । यसले दुवै देशलाई ठोस जलवायु कार्यहरूलाई गति दिन वार्ता र सहयोगमा संलग्न भएको देखिएको संयुक्त रुपमा सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ । ऊर्जा नीति र रणनीतिमा द्विपक्षीय वार्ता पुनः शुरु गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
कोप–२८ शिखर सम्मेलनका लागि दुवै देशबीच यसै महिनाको अन्त्यमा दुबईमा भेट हुँदैछ । यस वर्षको सुरुमा अमेरिकाले चीनले आफ्नो आकाशमा जासुसी बेलुन पठाएको आरोप लगाएपछि चीन अमेरिका सम्बन्धमा चिसोपना आएको थियो । दुई नेताबीच गाजा र युक्रेनमा भएको युद्ध, अन्तर्राष्ट्रिय व्यापार र ताइवानका बारेमा पनि छलफल भएको बताइएको छ ।
राष्ट्रपति सीले बाइडेनसँग एक वर्षअघि बालीमा भएको भेटपछि धेरै कुरा परिवर्तन भइसकेको बताए । अहिले विश्व कोभिड महामारीबाट बाहिर निस्किएको भए पनि त्यसको प्रभाव अझै कायमै रहेको उनले बताए । विश्व अर्थतन्त्रमा सुधार भइरहे पनि यसको गति सुस्त रहेको उनको भनाइ थियो ।
६ वर्षको रिक्तता तोडेर चिनियाँ सर्वोच्च नेता सी मंगलबार अमेरिका पुगेका हुन् । सान फ्रान्सिस्कोमा आयोजित एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन समिट (एपेक) मा भाग लिन सी अमेरिका पुगेका हुन् । त्यही क्रममा दुवै विश्वशक्तिका शीर्ष नेताहरूबीच द्विपक्षीय भेटवार्ता पनि भएको हो ।
गत वर्ष अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन क्रूद्ध बनेको थियो । रुस र युक्रेनबीचको युद्धमा पनि यी दुवै शक्तिराष्ट्र विपरीत ध्रुवमा छन् । इजरायल र हमासबीचको द्वन्द्वमा अमेरिका स्पष्टतः इजरायलको पक्षमा उभिएको छ । यो सन्दर्भमा सम्भावित सैन्य द्वन्द्वबाट बच्न चीन र अमेरिकाबीच भएको छलफललाई महत्त्वका साथ हेरिएको छ ।