Nepal Times
Nepal Times
297
Shares

कस्तो छ अहमदाबादको पिच ? अनि मौसम ?

कस्तो छ अहमदाबादको पिच ? अनि मौसम ?

३ मंसिर,एजेन्सी ।
विश्वकै सबैभन्दा धेरै दर्शक अट्ने अहमदाबादको नरेन्द्र मोदी स्टेडियम आज आफ्नो इतिहासकै सबैभन्दा ठूलो म्याच आयोजना गर्दैछ । एकैसाथ सवा लाख दर्शक क्षमता भएको यो स्टेडियमको पिचको पनि यो पहिलो ठूलो परीक्षा हो । अहमदाबादको पिच ब्याट्सम्यानहरूका लागि उपयोगी छ, तर यसले बलरहरूलाई पनि मद्दत गर्छ ।

यहाँ बीचको ओभरमा स्पिनरहरूलाई केही राहत मिल्छ । यो विश्वकपको पाँचौं खेलका रुपमा फाइनल हुँदै छ । हालसम्म भएका ४ खेलमा पछ्याउने टोलीले ३ र पहिले ब्याटिङ गर्ने टोलीले १ खेल जितेको छ । यहाँ हालसम्म खेलिएका ३० एकदिवसीय खेलमा १५ खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेका छन् ।

पछ्याउने टोलीहरूले १५ खेलमा जित हासिल गरेका छन् । पहिलो इनिङ्सको औसत कुल स्कोर २ सय ४३ रन बनाउँदा यहाँ टिमको उच्चतम स्कोर ३ सय ६५ रन हो, जुन सन् २०१० मा भारत विरुद्ध दक्षिण अफ्रिकाले बनाएको थियो । सबैभन्दा कम स्कोर ८५ रन हो । जुन २००६ मा जिम्बाब्वेले वेस्ट इन्डिजविरुद्ध बनाएको थियो ।

भारतले अहमदाबादमा १९ एकदिवसीय खेल खेलेको छ । टिमले ११ खेलमा जित निकाल्दा ८ खेलमा हारेको छ । यहाँ पहिले ब्याटिङ गरेको टोलीले नौ खेलमध्ये पाँचमा जित र चार हार बेहोरेको थियो । पछ्याउने क्रममा, भारतले १० मध्ये चार खेलमा हार ब्यहोर्दा ६ खेलमा जित निकालेको छ । अस्ट्रेलियाले अहमदाबादमा अहिलेसम्म ६ एकदिवसीय खेल खेलेको छ ।

जसमा ४ जित र २ हारेको छ । यहाँ पहिले ब्याटिङ गरेको टोलीले चार खेलमध्ये तीनमा जित र एकमा हार बेहोरेको थियो । पछ्याउने क्रममा दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको थियो । आज अहमदाबादको मौसम सफा हुनेछ । पानी पर्ने सम्भावना छैन । दिनभर राम्रो घाम लाग्नेछ ।

यस अवधिमा हावाको गति ७ किलोमिटर प्रतिघण्टा रहने छ । तापमान २० देखि ३३ डिग्री सेल्सियस सम्म हुन सक्ने सम्भावना रहेको छ । यसबीच फाइनल खेलअघि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अध्यक्ष रोजर बिन्नीले भारतले उपाधि जित्ने आशा व्यक्त गरेका छन् ।

तर, पाँच पटकको विजेता अस्ट्रेलियाली टोलीलाई हल्का रूपमा लिन नहुने पनि उल्लेख गरेका छन् । भारतको अहमदाबादमा मिडियासँग कुरा गर्दै रोजर बिन्नीले भनेका छन्, ‘भारतीय टोलीले जारी विश्वकपमा अहिलेसम्म निकै राम्रो खेलेको छ । हामीले अहिलेसम्म सबै खेल जितेका छौँ, जुन विश्वकपमा रेकर्ड हो ।

मलाई विश्वास छ– राम्रो प्रदर्शन गरिरहेको भारतले आजको खेल अझ धेरै राम्रो खेल्नेछ । तर तपाईंहरू अस्ट्रेलियालाई हल्का रूपमा नलिनुहोला । ऊ पाँचपटक विश्व च्याम्पियन भइसकेको टोली हो । तर पनि भारतले खेल जित्नेमा हामी आशावादी छौँ।’

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.