४ मंसिर,एजेन्सी ।
युरो–२०२४ छनोटको समूह ‘जे’मा पोर्चुगलले शतप्रतिशत जित निकालेको छ । आइतबार राति आइसल्यान्डलाई २–० ले हराएसँगै युरो छनोटमा पोर्चुगल अपराजित बनेको हो । घरेलु मैदानमा पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेज र रिकाल्डो होर्टाले गोल गरे । खेलको ३७औँ मिनेटमा फर्नान्डेजले गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए ।
यही गोलबाट पोर्चुगलले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । पोर्चुगलले दोस्रो हाफमा एक गोल थप्यो । ६६औँ मिनेटमा होर्टाले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाएका थिए । समूह ‘जे’को अन्तिम खेलमा समेत विजयी भएको पोर्चुगलले ३० अंक जोडेको छ । पोर्चुगलले समूहमा खेलेका १० मध्ये सबैमा जित निकालेको हो ।
यो समूहबाट पोर्चुगलसँगै युरोपियन च्याम्पियनसिपमा स्थान बनाएको स्लोभाकियाले समान खेलबाट २२ अंक जोडेको छ । १० खेलबाट १० अंकको आइसल्यान्डले तालिकाको चौथो स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको छ । यता रोमेलु लुकाकुको चार गोलप्रेरित बेल्जियमले पनि युरो–२०२४ छनोटमा अजरबैजानविरुद्ध ५–० को फराकिलो जित निकालेको छ ।
आइतबार राति ब्रसेल्समा भएको खेलमा घरेलु टिमलाई जित दिलाउन लुकाकुले चार र अर्को एक गोल लियन्ड्रो ट्रोसार्डले थपे । खेलको २४औँ मिनेटमा एडी पास्कुलले रातो कार्डको दर्शन गर्दै मैदान छाडेपछि पाहुना टिम अजरबैजान १० खेलाडीमा समेटिएको थियो ।
लुकाकुले १७औँ, २६औँ र ३०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । उनले ३७औँ मिनेटमा अर्काे गोल थप्दै घरेलु टिमलाई पहिलो हाफमै ४–० को अग्रतामा राखेका थिए । ट्रोसार्डले खेलको अन्तिम मिनेटमा गोल गरेपछि बेल्जियम ५–० ले विजयी भएको हो ।
समूह ‘एफ’मा रहेको बेल्जियमले आठ खेलबाट २० अंकसहित युरोपियन च्याम्पियनसिपमा स्थान निश्चित गरिसकेको छ । दोस्रो स्थानमा रहेको अस्ट्रिया पनि युरोमा स्थान बनाउन सफल भएको छ । अस्ट्रियाले आठ खेलबाट १९ अंक जोडेको छ । समान खेलबाट सात अंकको अजरबैजान तालिकाको चौथो स्थानमा छ ।