४ मंसिर,एजेन्सी ।
यो सिजनमा नेपाल आउने पर्यटकको संख्या बढेको छ । अहिले मासिक झन्डै एक लाख हाराहारीमा पर्यटक भित्रिरहेका छन् । पर्यटकका लागि सिजन मानिने सेप्टेम्बर,अक्टोबर र नोभेम्बर महिनामा विशेषगरी पर्यटकहरू हिमाल आरोहणसँगै ट्रेकिङ र ट्राभलका लागि नेपाल आउँछन् ।
यी सबै गन्तव्यतर्फ अहिले पर्यटकको आगमन उत्साहजनक रहेको व्यवसायीहरूले बताएका छन् । पर्यटकको चापले कास्कीका कतिपय स्थानमा पर्यटकको व्यवस्थापनामा नै समस्या उत्पन्न भएको छ । नेपालमा यतिबेला पर्यटकका रुपमा मानवमात्रैको होइन चराको पनि चाप बढेको छ ।
जाडो छल्न चरा विगतझैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरु भएको हो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ ।
कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमा झैँ झुण्डझुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताएका छन् ।
गौतमका अनुसार ‘गत वर्ष कोशीमा मात्र ५३ प्रजातिका सात हजार पाँच सयभन्दा बढी चरा नेपाल आएको तथ्याङ्क रहेको छ । विशेष गरी जाडो छल्न र बच्चा कोरल्न पाहुना चराको आकर्षक गन्तव्य नेपाल बन्ने गरेको छ । तर हजारौँको सङ्ख्यामा आउने बार हेडेड गुस (खोया हाँस) को सङ्ख्या घट्दो क्रममा रहेको प्रमुख गौतम बताउँछन् ।
उनका अनुसार कोशीटप्पुकै आसपासमा रहेको बर्जु ताल र मोरङको बेतना सिमसारमा भने अझै पनि पाहुना चरा झुण्डमै आउने गरेको पाइएको छ । नेपालको विभिन्न भागबाट तथा दक्षिण भारत र साइबेरियासम्मका चरा बेतनामा मज्जाले हेर्न पाइन्छ ।
बेतना सिमसारमा ४९ प्रजातिका ३० परिवारका चार सयको सङ्ख्यामा चरा रहेको जसमध्ये ७० प्रतिशत स्थानीय, १८ प्रतिशत हिउँदमा आउने पर्यटक चरा र १२ प्रतिशत गर्मीमा आउने पर्यटक चरा रहेको बताइन्छ । जसमध्ये खैरो टाउके फिस इगल र लेचर स्ट्रक जातका चरा आइएनसियुको खतराको सूचीमा पर्दछन् ।
उत्तरी धुर्वमा हिमपातको सुरूआतसँगै हिउँदयामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा हजारौँ पर्यटक चरा बसाइँसरी आउने गर्दछन् । बर्सेनि करिब एक सय ५० प्रजातिका चरा रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेको तथ्याङ्क रहेको छ ।
करिब ५० प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत, पाकिस्तान र श्रीलङ्कातिर जाने गर्छन् । जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्रायः रहने गर्दछन् ।
जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् । अन्य प्रजातिमा सिकारी तथा मांसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइ आदि पर्दछन् । दक्षिणी मुलुक र अफ्रिकाबाट हजारौँ ग्रीष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्दछन् ।
यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन् ।