९ मंसिर,काठमाण्डौ ।
पशुपति क्षेत्र विकास कोषले भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारप्रति आपत्ति जनाएको छ । पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचार भारतीय सञ्चारमाध्यमहरूमा प्रकाशन भएको भन्दै कोषले आपत्ति जनाएको हो । पशुपतिनाथ विश्वका करोडौं हिन्दुहरूका एक मात्र आस्थाका केन्द्रविन्दु रहेको भन्दै कोषले हिन्दुहरूको आस्थामा चोट नपुर्याउन आग्रह गरेको छ ।
“समग्र हिन्दुहरूको मूल आस्थाको धरोहर पशुपतिनाथका विषयमा र मन्दिरको संरक्षक पशुपति क्षेत्र विकास कोषका विषयमा भारत र नेपालका केही सञ्चार माध्यमहरूमा प्रसारित तथा प्रकाशित भ्रामक समाचारप्रति कोषको ध्यानाकर्षण भएको छ,” कोषले भनेको छ, “पत्रिकाहरूमा उल्लेख भए बमोजिम भारतको उत्तराखण्ड विपिन रावतको गाउँमा पशुपतिनाथ मन्दिर बनाउन स्वीकृति, सहमति दिने सम्बन्धमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को कुनै स्वीकृति, सहमति, निर्णय नभएको त्यस्ता सामग्रीहरू कोषको तर्फबाट उपलब्ध नगराइएको र पत्राचार गर्ने÷गराउने निर्णय समेत नभएको व्यहोरा जानकारी गराइन्छ ।”
भ्रामक समाचारहरूका कारण हिन्दु धर्म दर्शन एवं पाशुपत दर्शनप्रति आस्थावान् धार्मिकजनप्रति पारिएको आघातप्रति कोषले आपत्ति जनाएको छ । यसअघि भारतमा नेपालको जस्तै स्वरूपको पशुपतिनाथ मन्दिर बनाउन लागिएको खबरहरु प्रकाशित भएका थिए । विमान दुर्घटनामा ज्यान गुमाएका भारतका तत्कालिन चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतको पुर्ख्यौली गाउँ उत्तराखण्डको सैनमा सो मन्दिर निर्माण हुने बताइएको थियो ।
यसका लागि नेपालका पशुपति विकास कोषले शालिग्रामबाट बनेको शिवलिङ्ग उपहार दिने पनि समाचारहरुमा आएका थिए । सैन गाउँलाई गोद आर्थत सम्पूर्ण कुराको जिम्मेवारी लिएको लिएको एक संस्थाका प्रमुख निवरुत्ती यादव नेपाल आएर पशुपति क्षेत्र विकास कोषका संरक्षक समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर उत्तराखण्डको सैन गाउँमा पशुपतिनाथको मन्दिर निर्माण गर्न लागेको बारेमा जानकारी गराएको भन्ने खबर छापिएका थिए ।
पशुपति मन्दिरका लागि नेपालले नन्दीको मूर्ति, त्रिशूल र एक घण्टीसमेत उपहार दिएको बताइएको थियो । तर यी सबैको खण्डन गर्दै पशुपति क्षेत्र विकास कोषले यस्ता समाचारप्रति आपत्ति जनाएको छ ।