१२ मंसिर, काठमाण्डौ ।
सरकारले कारागारमा योग शिविर चलाउने भएको छ । आपराधिक क्रियाकलपमा संलग्न भएको अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीमा सकारात्मक सोचको विकास गर्ने ध्येयले सरकारले योग साधनाको अवधारणालाई अघि बढाउने भएको जनाएको छ ।
यसअघि मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत देशभरका कारागारमा पनि योग शिविर सञ्चालन हुने भएको हो ।
उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानासहित गृह मन्त्रालयमा बसेको बैठकले नक्खु कारागारबाट शिविर सञ्चालन गर्ने निर्णय गरेको हो ।
एक महिनाभित्रै नक्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरु कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गरिने छ । केन्द्रीय कारागारसहित देशमा ७४ कारागार छन् । ती कारागारमा करिब २५ हजार कैदीबन्दी छन् ।
नेपाल विपश्यना केन्द्रका धर्मसेवक सुशील शाहका अनुसार केन्द्रकै व्यवस्थापनमा शिविर सञ्चालन हुनेछ । यसअघि नक्खु, भीमफेदी, परासी र विराटनगर कारागारमा पहिलो चरणको योग शिविर सम्पन्न भइसकेको छ।
यसअघि मन्त्रालयले मातहतका निकायमा योग र ध्यान अनिवार्य गराउने निर्देशन दिएपछि गृहमन्त्री श्रेष्ठको निकै आलोचना भएको थियो । स्वयम कर्मचारीहरुले नै यसको कार्यान्वयन गर्न कठिनाइ हुने बताएका थिए। जसको कार्यान्वयन शुन्य प्राय छ । यो योजना असफल सिद्ध भईसकेको छ ।