१६ मंसिर,एजेन्सी ।
सात दिनको युद्धविरामपछि गाजा क्षेत्रमा इजरायलले पुनः आक्रमण तीव्र बनाएको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पछिल्लो आक्रमणमा कम्तीमा एक सय ७८ जना मारिएका दाबी गरेको छ । इजरायल र हमास दुवैले एकअर्काका कारण युद्धविराम लम्ब्याउन नसकिएको आरोप लगाएका छन् ।
इजरायलले पनि २०० ‘आतंकवादी लक्ष्य’मा आक्रमण गरिएको बताएको छ । गाजामा सात दिने युद्धविराम हिजो बिहान सकिएलगत्तै इजरायलले आक्रमण थालेको थियो । इजरायलले दक्षिणी गाजाका केही इलाकाका बासिन्दालाई इजिप्टको सिमाना नजिकै रहेको रफाहतर्फ जान र दक्षिणतर्फ जान आग्रह गर्दै पर्चाहरू छोडेको छ ।
गएको अक्टोबर ७ तारिखदेखि शुरु भएको लडाइँ एक हप्ता रोकिएको थियो । युद्धविराम अवधिमा दुई पक्षले सहमतिअनुसार बन्धक बनाएका केही नागरिकलाई रिहा गरेका थिए । युद्धविराम लम्ब्याउने वार्तासँग सम्बन्धित एक स्रोतले कतारमा इजरायल र हमासबीच युद्धविराम लम्ब्याउने सहमति हुन नसकेको बीबीसीले उल्लेख गरेको छ ।
तर, अमेरिकाले अझै दुईबीचको द्वन्द्व रोक्न प्रयास गरिरहेको बताएको छ । तर यसबीच गाजामा भीषण हमला जारी रहेको छ । गाजाको सरकारी सञ्चार कार्यालयले विज्ञप्ति जारी गर्दै इजरायली विमानले गाजा पट्टीका विभिन्न शहरहरूका बसोबास रहेको र भीडभाड भएका क्षेत्रहरूमा बमबारी जारी राखेको जनाएको छ ।
विज्ञप्तिमा बालबालिका र महिलाहरू विरुद्ध जारी आक्रमणका लागि अन्तरराष्ट्रिय समुदायलाई जिम्मेवार ठहराइएको छ । इजरायली सञ्चार माध्यमका अनुसार नोभेम्बर २४ मा इजरायल र हमासले अल्पकालीन युद्धविराम गरेपछि पहिलो पटक शुक्रबार बिहान गाजासँगको सीमा नजिक इजरायली शहरहरूमा साइरन बजिरहेको आवाज सुनिन्थ्यो ।
इजरायली सेनाले गाजा पट्टीबाट इजरायलतर्फ प्रहार गरिएको क्षेप्यास्त्रलाई रोकेको पुष्टि गरेको छ । आक्रमणपछि, इजरायली होम फ्रन्ट कमाण्डले देशका केही क्षेत्रहरूमा नागरिकहरूका लागि दिशानिर्देशहरूलाई कडा पारेको छ ।