१९ मंसिर, एजेन्सी ।
गाजामा इजरायलको आक्रमणले १६ हजार मानिसको मृत्यु भएको हमासले दाबी गरेको छ । हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयले गाजामा युद्धमा परी मृत्यु हुनेको संख्या १६ हजार नजिक पुगेको जनाएको हो । अक्टोबर ७ पछि अर्थात् इजरायल–हमास युद्ध सुरु भएपछि गाजामा १५ हजार ८ सय ९९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हमासका अनुसार मारिनेमा ७० प्रतिशत महिला र बालबालिका रहेका छन् । इजरायलले युद्धको उद्देश्य हमासलाई गाजा पट्टीबाट सखाप पार्नु रहेको बताएको छ । ७ अक्टोबरमा हमास लडाकुहरूले इजरायलमा प्रवेश गरी गरेको आक्रमणमा १२ सय जनाको मृत्यु भएको थियो ।
त्यसबेला हमासले करिब २ सय ४० जनालाई बन्धक बनाएर लगेको थियो । शुक्रबार समाप्त भएको सात दिने अस्थायी युद्धविराममा सयभन्दा बढी बन्धकहरूलाई रिहा गरिएको थियो । युद्ध जारी रहेकोले मारिनेहरूको संख्या दिनदिनै बढिरहेको छ ।
यसबीच प्यालेस्टिनी क्षेत्रमा रहेका नागरिकको सुरक्षाको आह्वानसहित अन्तर्राष्ट्रिय रेडक्रस समितिका अध्यक्ष युद्धग्रस्त क्षेत्र गाजा पुगेका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय समितिका अध्यक्ष मिर्जाना स्पोल्जारिक आफू गाजामा रहेको र मानिसहरुको असह्य पीडालाई देखिरहेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
कतार, अमेरिका र इजिप्टको मध्यस्थतामा इजरायल र हमासले केही बन्धक र कैदीहरू आदानप्रदान गरेको एक हप्ता लामो युद्धविराम भङ्ग भइ शुक्रवारदेखि पूर्ण रूपमा युद्ध शुरु भएपछि उनी गाजा पुगेका हुन् । उनले गाजामा सर्वसाधारणका लागि कुनै पनि स्थान सुरक्षित नहुनु अस्वीकार्य रहेको बताएका छन् ।
बन्धकलाई रिहा गर्नुपर्ने र आईसीआरसीलाई सुरक्षित रूपमा उनीहरूसँग भेट्न दिनुपर्नेमा उनको जोड छ । त्यहाँ सैन्य घेराबन्दीका कारण पर्याप्त मानवीय सहायता पनि सम्भव नरहेको आईसीआरसीले विज्ञप्तिमा जनाएको छ ।