Nepal Times
Nepal Times
3
Shares

बालबालिकालाई ‘एनिमल’ देखाउने हललाई कारबाही

बालबालिकालाई ‘एनिमल’ देखाउने हललाई कारबाही

१९ मंसिर,एजेन्सी ।
भारतमा मात्रै नभई ग्लोबल ग्रस कलेक्सनमा समेत कीर्तिमानी कमाई गरिरहेको हिन्दी चलचित्र ‘एनिमल’ बालबालिकालाई देखाएको भन्दै काठमाडौंको एक सिनेमा हल कारबाहीमा परेको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित चलचित्र हल ‘वन सिनेमाज’लाई चलचित्र विकास बोर्डले उक्त सिनेमा देखाएको भन्दै कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ ।

प्राप्त सूचनाको आधारमा सोमबार साँझ साढे ६ बजे सुरु भएको चलचित्र चलिरहेको समयमा बोर्ड सदस्यहरू राजु केसी, केएल बुढाथोकी, रवि अधिकारी, बक्स अफिस अधिकृत प्रवीण पाण्डे, अध्यक्ष भुवन केसीका सहयोगी नीराजन गिरी सो हलमा तथ्य चेकजाँचको लागि पुग्दा बालबालिकालाई टिकट बिक्री गरी देखाइरहेको भेटिएको हो ।

हल व्यवस्थापनलाई ती बालबालिकाहरूको टिकट तत्काल फिर्ता गर्न लगाइएको थियो । सो चलचित्रले केन्द्रीय चलचित्र जाँच पास समितिबाट १६ वर्ष माथिका उमेर समूहले मात्र हेर्न मिल्ने ‘ए’ प्रमाणपत्र प्राप्त गरेको छ । यसको आधारमा बालबालिकालाई सो चलचित्र देखाउनु गैर कानुनी ठहर्छ ।

बालबालिकालाई ‘एडल्ट’ चलचित्रको टिकट बिक्री नगर्न बोर्डले अनुरोध गरेको छ । ‘कानुन विपरीत बालबालिकालाई एडल्ट चलचित्रको टिकट बिक्री गर्ने हललाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ । हाम्रो समाजप्रति उत्तरदायी हुँदै बालबालिकालाई एडल्ट चलचित्रको टिकट बिक्री नगर्न सम्पूर्ण हल सञ्चालकहरूलाई अनुरोध गर्दछौं’, अनुगमन समितिका संयोजक राजु केसीले बताए ।

कानुनले वर्जित गरेको कार्य गरेको भेटिएमा कानुनबमोजिम आवश्यक कारबाही हुने उनको भनाइ छ । सो घटनाबारे थप अनुसन्धान गरी बोर्डको तालुकदार निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रतिवेदन बुझाउने तयारी भइरहेको बोर्ड प्रवक्ता केएल बुढाथोकीले बताए ।

’एनिमल’ को भारतमै पनि सामाजिक सञ्चालमा आलोचना भइरहेको छ। शुक्रबारदेखि फिल्म प्रदर्शन भएपछि दर्शकले स–साना भिडिओ क्लिप सामाजिक सञ्चालमा सेयर गरिरहेका छन्। जसमा फिल्मका पुरुष पात्रले महिला पात्रलाई शारीरिक, मानसिक हिंसा गरिरहेको क्लिप छन्।

फिल्मलाई दर्शकले मिश्रित प्रतिक्रिया दिइरहेका छन्। कतिपयले फिल्मलाई राम्रो बताएका छन् भने कतिपयले धेरै हिंसात्मक भएको बताएका छन्। अभिनेता रणवीर कपूरको मुख्य भूमिका रहेको फिल्ममा अभिनेत्री रश्मिका मन्दाना, बबी देओल, अनिल कपूरको अभिनय छ। एनिमलले शाहरुख खानको सफल चलचित्र पठानको रेकर्ड तोडिसकेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.