Nepal Times
Nepal Times
3
Shares

रुसी सेनामा नेपाली पठाउने को हुन् ? समातिए १२ जना

रुसी सेनामा नेपाली पठाउने को हुन् ? समातिए १२ जना

२० मंसिर, विराटनगर । नेपाल प्रहरीले रुसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई पक्राउ गरेको छ ।

प्रहरीको टोलीले काठमाण्डौका विभिन्न ठाउँमा केही दिनदेखि चलाएको ’अप्रेशन’ का क्रममा नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेलले रुसी सेनामा जानलाई युवा खोज्ने, कागजात मिलाइदिनेदेखि लिएर भिजिट भिसा मिलाउनेसम्मका गतिविधिमा सङ्लग्न व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गरे ।

पछिल्लो समय रुस–युक्रेन युद्धपछि रुसले विदेशीका लागि भर्ती खोल्दा धमाधम नेपाली युवा अवैध बाटो हुँदै त्यहाँ गइरहेका छन् ।

यसरी अवैधरूपमा रुसी सेनामा गएका छ जना नेपाली युवाले ज्यानसमेत गुमाएका छन् । पक्राउ परेकासँग प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस्तै रुसी फौजमा रहेर ज्यान गुमाएका नेपालीहरूको शव स्वदेश फर्काउनेबारे हालसम्म ठोस प्रगति हुन नसकेको रुसका लागि नेपाली राजदूत मिलनराज तुलाधरले बताएका छन् ।

नेपाली परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभागका महानिर्देशक प्रकाशमणि पौडेलले पनि रुसी तर्फबाट जबाफ आउने प्रतिक्षा भैरहेको बताएका छन् ।

उनी भन्छन्,“नेपालको पक्षबाट उता कुरा भइरहेको छ । रुसी पक्षबाट ठोस जवाफ आइसकेको छैन।”

परराष्ट्र मन्त्रालयले रुसको तर्फबाट युक्रेन युद्धमा लड्ने क्रममा हालसम्म छ जना नेपाली मारिएको पुष्टि गर्दै ज्यान गुमाएकाहरुको शव यथाशीघ्र नेपाल पठाउन रुसलाई अनुरोध गरिएको जानकारी सोमवार एक विज्ञप्ति मार्फत दिएको थियो ।

परराष्ट्र मन्त्रालय स्रोतले ’युद्ध क्षेत्रमा मारिएका नेपालीहरूको शव ल्याउन कठिनाइ हुने प्रारम्भिक संकेत रुसी पक्षले आफूहरूलाई दिएको’ बताएको छ ।

परराष्ट्र मन्त्रालयले सोमबार मात्र रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएका ६ नेपालीको विवरण सार्वजनिक गरेको थियो ।

सार्वजनिक सूचीअनुसार गोरखाका सन्दीप थपलिया, पुतलीबजार–५, स्याङ्जाका पितम कार्की, मेला–६, दोलखाका राजकुमार रोका, इलाम–५, इलामका गंगाराज मोक्तान, वाणगंगा–१, कपिलवस्तुका रूपक कार्की र पोखरा, कास्कीका देवान राई रुस–युक्रेन युद्धका क्रममा मारिएका हुन् ।

परराष्ट्रले मृतकका शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसलाई अनुरोध गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.