Nepal Times
Nepal Times
3
Shares

काठमाडौंमा औषधि पसल चलाए कानूनबमोजिम, नत्र कारबाही

काठमाडौंमा औषधि पसल चलाए कानूनबमोजिम, नत्र कारबाही

२० मंसिर, विराटनगर । काठमाडौँ महानगरपालिकाले कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ ।

महानगरका मेयर बालेन्द्र शाहले दर्ता नभएका औषधि पसललाई नियमानुसार आउँदो मङ्सिर २९ गतेभित्र दर्ता हुन तथा डाक्टरको सिफारिस (प्रेस्किप्सन) अनुसार मात्रै औषधिको कारोबार गर्न आज सामाजिक सञ्जालमार्फत निर्देशन दिएका छन् ।

मेयर शाहले महानगरभित्र सञ्चालनमा रहेका कतिपय औषधि पसल दर्ता नभएका, अनधिकृत व्यक्तिबाट औषधि बिक्री भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री गरेको र डाक्टरको सिफारिस (प्रेस्किप्सन) विना औषधि बिक्री भइरहेको लगायतका गुनासा आइरहेका उल्लेख गरेका छन् ।

महानगर आमनागरिकको स्वास्थ्यका लागि संवेदनशील रहेको भन्दै उनले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न सुधारात्मक काम गर्दै आएको बताएका छन् । सुधारका प्रयास भइरहे पनि जनस्वास्थ्यमा लापर्बाही भएको भेटिएको मेयर शाहको भनाइ छ ।

नार्कोटिक औषधिको प्रचलित ऐन कानुनअनुसार बिक्री नगरिएको र ती औषधिको आवश्यक अभिलेख नराख्ने गरिएको, औषधि पसल व्यवस्थापन नगरिएको, महानगरपालिकाको स्वास्थ्य विभागबाट इजाजत पत्र नलिई औषधि पसल सञ्चालनमा रहेका गुनासा आएका छन् ।

साथै महानगरको अनुगमनमा पनि यस्ता गुनासा आएका हुँदा कानुनअनुसार काम गर्न भनिएको छ ।

मङ्सिर २९ गतेभित्र महानगरपालिका क्षेत्रभित्र सञ्चालित औषधि पसलले सुधारात्मक काम नगरेमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (क) ९ तथा महानगरपालिका जन–स्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन हुने र महानगरपालिकाको जनस्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार औषधि पसल बन्द गर्नेसम्मको कारबाही गरिने मेयर शाहले चेतावनी दिएका छन् ।

यदि कानुन विपरीत काम भएको पाइएमा महानगरपालिकाको स्वास्थ्य विभागमा उजुरी गर्न वा महानगरपालिकाको गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) को निःशुल्क टोल फ्री नम्बर १६६००१०५५११ वा ११८० मा सम्पर्क गरी जानकारी दिन पनि महानगरवासीलाई अनुरोध गरिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.