२३ मंसिर,काठमाण्डौ ।
केही वर्षदेखि नेपालका बैंक तथा वित्तिय संस्थाविरुद्ध निरन्तर आगो ओकल्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले पछिल्लो समय यसैका लागि विरोध प्रदर्शनीदेखि बैंकका कर्मचारीमाथि दुव्र्यवहारसम्मका गतिविधि दोहोर्याइ रहँदा प्राय सबै राजनीतिक दलहरुले यसलाई अराजक, कानूनविपरित भन्दै आलोचना गरिरहेका छन् ।
केहीले त प्रसाईँलाई पक्राउ गर्नुपर्नेसम्मका टिप्पणी गरिरहेका छन् । तर यसैबीच हाल संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसकै एक प्रभावशाली नेता दुर्गा प्रसाईँकै लाइनमा देखिएका छन् । संस्थापन इतरका नेता डा.शेखर कोइराला प्रसाईँकै शैलीमा बैंकमाथि जाइलागेका छन् ।
उनले बैंकहरु मिटरब्याजी भएको आरोप लगाएका छन् । चितवन काठमाडौं प्रजातान्त्रिक संगमको कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै नेता कोइरालाले सबैभन्दा ठूलो मिटरब्याजी बैंकहरु भएको बताए । उनले भने, ‘ब्यांकर्सहरु मसँग अलिकति रिसाउनु पनि भएको छ । मैले त भन्ने गर्याछु आजकाल, सबभन्दा ठूलो मिटरब्याजी त बैंकहरु भए ।’
देश आर्थिक रुपले अप्ठेरो परिस्थितिमा रहेको तर त्यसबाट बैंक प्रभावित भएको नदेखिएको उनले बताए । ‘सबैचिज अप्ठ्यारो परिस्थितिबाट गइरहेको छ, आर्थिक कुरा गर्दाखेरि,’ डा. कोइरालाले भने, ‘तर बैंक फस्टाइरहेको छ, बोनस बाँडिरहेको छ, कसरी हुन्छ यो ?’ सरकारले कृषिमा ५ प्रतिशतमा ऋण दिने निर्णय गरे पनि बैंकहरुले नदिने गरेको आरोप उनले लगाए ।
‘तपाईंहरु जानुस्, चिनजान छ भने दिइहाल्छ बैंकले नत्र दिँदैन,’ उनले भने, ‘१०÷२० लाख, ५० लाख लोन लिन जानुस् दिँदैन बैंकले । तर एउटा अरबपतिले म कृषिमा लगानी गर्छु भनेर गयो भने तुरुन्तै दिन्छ ।’ यस्तै उनले एनसेल प्रकरणमा राजनीतिज्ञहरुको संलग्नता रहेको पनि आरोप लगाएका छन् ।
‘भ्रष्टाचारको कुरा गर्दा जहाँ कुरा गर्नुस् जुनै भ्रष्टाचार नेताहरुसँगै जोडिएको छ’, उनले भने, ‘जतिसुकै जसले जे भनेपनि राजनीतिज्ञ, कर्मचारी र व्यापारीहरु नमिली यस्तो भ्रष्टाचार हुनै सक्दैन । एनसेलको प्रकरण पनि त्यही हो ।’ देशमा सबै चिज अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको कोइरालाको टिप्पणी छ ।
यसैबीच स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै भ्रष्टाचार नियन्त्रणका लागि भएका प्रयास पूर्ण नभएको बताएका छन् । भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस, २०८० को अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बिहान आयोजना गरेको कार्यक्रममा सुशासनका लागि सरकारले गरिरहेको प्रयत्न पनि पूर्ण नरहेको उनको भनाइ छ ।
भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आवश्यक रहेको उनले बताए । भ्रष्टाचार नियन्त्रण नगरेसम्म सुशासन कायम हुन नसक्ने भन्दै यसका लागि सरकार दृढ रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । भ्रष्टाचारका कारण पहिचान गरेर त्यसको अन्त्यका लागि राज्यका सबै संयन्त्रहरूले काम गर्नुपर्नेमा उनको जोड छ ।