२४ मंसिर, काठमाण्डौ ।
काठमाडौंबाट लुक्ला जाँदै गरेको तारा एयरको कार्गो उडानको क्रममा जहाजको आपतकालीन ढोकाको सिसा खसेको छ । तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौंबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो ।
उक्त जहाजको आपतकालीन ढोकाको सिसा बीच रुटमै खसेको पाइएको हो ।उक्त जहाजको आपतकालीन ढोकाको सिसा काठमाडौंबाट उड्ने क्रममा भने केही भएको थिएन । तर, जहाज लुक्लामा ल्यान्ड गरेर पार्किङमा जाँदा इमर्जेन्सी ढोकामा सिसा थिएन ।
जहाजमा दुई जना प्यासेन्जर पनि थिए । जहाज शकुसल अवतरण गरिएको छ । अवस्था सामान्य रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताएका छन् । विज्ञका अनुशार सामान्यत विमानमा हावाको दबाब प्रणाली हुन्छ जसले नियन्त्रित स्तरमा दबाब कायम राख्छ ।
तर उचाइमा चाप कम भएका कारण यदि विमानको झ्याल तथा ढोका खुल्यो भने चाप प्रवाह हुन्छ । यस्तो अवस्थामा विमान अनियन्त्रित हुने तथा यात्रुहरु विमानबाहिर जान सक्छन् । एक वर्ष अघि मात्रै पोखरा जोमसोम उडानका क्रममा तारा एयरको जहाज दुर्घटनामा परेको थियो ।
जसमा चालक दलसहित २२ यात्रीको मृत्यु भएको थियो । उडान भरेपछि बेपत्ता भएको जहाज करिब १९ घण्टापछि करिब १३ हजार ५ सय फिटको उचाइको चट्टाने पहरोमा ठोक्किएपछि खोंचमा खसेको अवस्थामा विमान फेला परेको थियो ।