२९ मंसिर, काठमाण्डौ ।
भारतका विदेशमन्त्री एस. जयशंकर र श्रीलकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्री नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय विदेशमन्त्री जयशंकर नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् ।
यसैगरि श्रीलंकाका विदेशमन्त्री साब्री पनि नेपाल–श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आउन लागेका स्रोतले जानकारी गराएको छ । नेपाल–भारत संयुक्त आयोगको बैठक सन् २०२४ जनवरीको पहिलो साताका निम्ति तय गरिएको छ ।
त्यसका लागि जयशंकर आगामी पुस तेस्रो साता काठमाडौं आउने भएका हुन् । १९ पुसमा आएर जयशंकर २० पुसमा फर्किने गरी मिति तय भएको उच्च स्रोतले जनाएको छ । यसअघि यो संयन्त्रको बैठक अक्टोबरमै बस्ने तयारी भए पनि भारतीय विदेशमन्त्रीको समय नमिलेकाले बैठकको समय धकेलिएको थियो ।
बैठक नेपाल र भारतका विदेशमन्त्रीको नेतृत्वमा हुनेछ । सन् १९८७ मा स्थापना गरिएको नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक भारतको नयाँ दिल्लीमा २०२१ जनवरी दोस्रो साता भएको थियो । संयुक्त आयोगको बैठक आलोपालो आयोजना गर्ने अभ्यास छ ।
बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा छलफल गर्ने गरिन्छ । भारतीय विदेशमन्त्रीको यो भ्रमणका अवसरमा केही महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ । हालै मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका अवसरमा १० हजार मेगावाट विद्युत् खरिदसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने बताएका छन् ।
यसअघि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका सहयमा यो विद्युत खरिदसम्बन्धी सहमति जुटेको थियो । तर, सम्झौतामा हस्ताक्षर भने हुन सकेको छैन । भारतीय विदेश मन्त्री जयशंकर तत्कालीन अवस्थामा भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा तथा नेपालले संविधान जारी गर्दा भारतको विदेश सचिव रहेका थिए ।
उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूत बनेर पटक पटक नेपाल आएका थिए । यस्तै, २००९ मा नेपाल–श्रीलंका संयुक्त आयोगको स्थापना गरिएको थियो । श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजपाक्षेको नेपाल भ्रमणका बेला संयुक्त आयोग गठन गरिएको थियो ।