३० मंसिर,एजेन्सी ।
गाजाक्षेत्रमा आफ्नो शत्रु हमासलाई सिध्याउने भन्दै भीषण कारबाही जारी राखेको इजरायलले आफ्नै नागरिकको हत्या गर्न पुगेको छ । तर यसलाई उसले भुल भनेको छ । इजरायली सेनाले गाजामा जारी आफ्नो सैन्य कारबाहीमा गल्तीले तीनजना बन्धक मारिएको जानकारी दिएको छ ।
मारिनेमा २८ वर्षीय योताम हाइम, २२ वर्षीय समिर तलाल्का र २६ वर्षीय अलोन सामरिज रहेका छन् । उत्तरी गाजाको सेजाइयामा गरिएको सैन्य कारबाहीका दौरान उनीहरू मारिएको सेनाको भनाई छ । उनीहरुलाई गल्तीले ‘खतरा’ ठान्न पुग्दा मारिएको इजरायली सेनाले जनाएको छ ।
इजरायली रक्षा बल (आईडीएफ) ले घटनाप्रति दुःख व्यक्त गर्दै यसबारे अनुसन्धान भइरहेको जनाएको छ । यस घटनामा मारिएका परिवारप्रति आईडीएफले समवेदना प्रकट गरेको छ । ‘हाम्रो मिसन भनेको बन्धकहरूको स्थान पहिचान गर्नु र उनीहरूलाई घर फिर्ता ल्याउनु हो,’ सेनाले भनेको छ ।
मारिएका तीन जनाको शव इजरायल फिर्ता ल्याइएको छ । गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको कारबाहीमा हालसम्म १८ हजार ८ सय जनाको मृत्यु भएको छ भने ५० हजारभन्दा बढी घाइते भएका छन् ।
ठूलो संख्यामा पीडितहरू अझै पनि भग्नावशेष मुनि र सडकमा छन् ।गत ७ अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणपछि गाजामा अझै १ सयभन्दा बढी बन्धक रहेका छन् ।
सो दिनको हमलामा २ सय ४० जनाभन्दा बढीलाई बन्धक बनाइएको भए पनि दुई पक्षबिच केही समयका लागि गरिएको अस्थायी युद्धविरामका दौरान केही बन्धकहरूलाई छाडिएको थियो।
जसमा नेपाली विद्यार्थी विपिन जोशी पर्न सकेनन् । उनको रिहाइका लागि पहल जारी रहेको सरकारले बताइरहेको छ ।