९ पुष , एजेन्सी ।
अमेरिका विश्वभरका धेरै मुलुकका नागरिकका लागि सपनाको देश हो । वैधरुपमा अमेरिका जान प्रक्रिया पुर्याउनेको संख्या बाँकी देशहरुमा जसरी बढिरहेको छ, अवैधरुपमा अमेरिका प्रवेश गर्न खोज्नेहरुको संख्या पनि उस्तै गरि बढिरहेको छ । यो क्रममा सयौंको ज्यानसमेत गइसकेको छ । लाखौं मानिसहरु पक्राउ परेका छन् ।
यसको बावजुद अवैधरुपमा अमेरिका छिर्न खोज्नेको संख्या घटेको छैन । पछिल्लो पटक त झनै एकैसाथ हजारौं मानिसहरु अमेरिकातर्फ हिडिरहेका छन् । मध्य र दक्षिण अमेरिकाका विभिन्न देशका हजारौँ आप्रवासीको समूह मेक्सिको हुँदै संयुक्त राज्य अमेरिकाको सीमातर्फ अघि बढेको छ ।
भेनेजुएला, क्युबा, मेक्सिकोलगायत देशका झण्डै ८ हजार मानिस सम्मिलित समूह ‘गरिबीको प्रस्थान’ लेखिएको ब्यानर बोकेर अमेरिकी सीमातर्फ अघि बढेका छन् । आप्रवासन नियन्त्रणसम्बन्धी नयाँ सम्झौताअघि बढाउन चाहिरहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन मेक्सिको सिटी भ्रमणमा जानुअघि यो ठूलो समूह सीमातर्फ अघि बढेको हो ।
उनीहरु ग्वाटेमालाको सीमा जोडिएको दक्षिणी मेक्सिकन सहर तापचुलामा जम्मा भएर आएका खबरमा उल्लेख छ । अधिकारीहरुका अनुसार सन् २०२२ र २०२३ दुवै आर्थिक वर्षमा दक्षिणी सीमाबाट अमेरिका प्रवेश गर्न चाहने २० लाखभन्दा बढी आप्रवासी पक्राउ परेका छन् ।
सन् २०२३ को सेप्टेम्बर महिनामा मात्रै अमेरिकी सीमा सुरक्षा बल होमल्याण्ड सेक्युरिटी फोर्सेसले २ लाख आप्रवासीलाई पक्राउ गरेको थियो । केही दिन अघिमात्रै दोस्रो कार्यकालका लागि चुनावको तयारी गरिरहेका अमेरिकी पुर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अवैधरुपमा अमेरिका आउने आप्रवासीलाई विष भनेका थिए ।
उनले आफूले चुनाव जिते आप्रवासीलाई कडाई गर्ने बाचा पनि गरेका छन् । तर कहिले कानूनी बन्देज त कहिले प्रतिस्पर्धी उम्मेदवारहरुले ट्रम्पको चुनौती बढाइरहेका छन् । अमेरिकाको राष्ट्रपतिको उम्मेदवार बन्न रिपब्लिकन पार्टीको आन्तरिक प्रतिस्पर्धामा साउथ क्यारोलाइना राज्यकी पूर्वगभर्नर निक्की हेलीले डोनाल्ड ट्रम्पलाई टक्कर दिने सम्भावना देखिएको छ ।
न्यु ह्याम्पसायर राज्यमा हुन लागेको प्राइमरीअगाडि गरिएको एक सर्वेक्षणमा हेलीले अग्रस्थानमा रहेका ट्रम्पसँगको दुरी चार अंकमा छोट्याएकी छन् । बिहीबार सार्वजनिक भएको अमेरिकन रिसर्च ग्रुप इंकको सर्वेक्षणअनुसार यो राज्यमा कुन रिपब्लिकन उम्मेदवारलाई समर्थन गर्नुहुन्छ भन्ने प्रश्नमा ट्रम्पलाई ३३ प्रतिशत मत प्राप्त भएको थियो ।
हेलीले २९ प्रतिशत मत प्राप्त गरेकी छन् । यद्यपी अहिलेसम्म रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार मनोनयनका लागि ट्रम्प सबैभन्दा अगाडि छन् । तर ट्रम्पले ५० प्रतिशतभन्दा कम मत प्राप्त गर्नु कडा प्रतिस्पर्धाको संकेत भएको विश्लेषकहरुको भनाइ छ । तर, यो सर्वेक्षणलाई ट्रम्पले खारेज गरेका छन् ।