१३ पुष, काठमाण्डौ ।
कोरियन भाषा परीक्षामा सहभागी नगराएको भन्दै विरोध प्रदर्शमा उत्रिएका युवाहरूले सरकारी गाडीमा आगजनी गरेका छन् । युवाहरूको समूहले ललितपुरको बालकुमारीमा मन्त्री चढ्ने गाडीमा आगजनी गरेका हुन् । बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी भएको ललितपुर प्रहरीले जनाएको छ ।
सो गाडी भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाको रहेको बुझिएको छ । गाडीमा आगो लागेपछि अहिले बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । सो क्षेत्रमा सवारी साधानको लामो जाम भएको छ । ईपीएस परीक्षाको विषयलाई लिएर केही दिनदेखि युवाहरु आन्दोलित छन् ।
सोही क्रममा आज ईपीएस कोरिया शाखामा भेला भएका सयौं युवा बालकुमारी–सातदोबाटो सडकमा तोडफोड र ढुंगामुढामा उत्रिएका हुन् । युवाहरूले अहिले सडक कब्जा गरेका छन् । सडकमा सवारी आवागमन पूर्ण बन्द छ । प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरेको छ ।
ईपीएस कोरिया शाखाले सिपबिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि बाँकीले आन्दोलन थालेका हुन् । सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए ।
अदालतले पनि भाषा परीक्षामा भाग लिन फर्म भर्न दिनू भनेर आदेश दिएको थियो । तर, शाखाले भने मुद्दा हालेका १८ जनालाई मात्रै भाषा परीक्षामा सहभागी हुन दिएपछि अन्य आक्रोशित भएका हुन् ।