१५ पुष, काठमाण्डौ ।
गरिब सर्वसाधारणले उपचारबाट बन्चित हुन् नपरोस् भन्नका लागि न्यूनतम शुल्कमा एक वर्षभरि १ लाख सम्मको निःशुःल्क उपचारको प्रवन्ध गरिएको स्वास्थ्य बीमा अब सशुल्क बन्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले अब स्वास्थ्य बीमाबाट गरिने उपचारमा लाग्ने १० प्रतिशत रकम बीमित बिरामीलाई नै तिराउने भएको छ ।
बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू गर्ने कार्यविधि, २०८० ल्याएर स्वास्थ्य सेवा उपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको १० प्रतिशत रकम सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्ने व्यवस्था गरिएको बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिइन् । यसअघि बोर्डमा आबद्ध भएकाले कुनै रकम तिर्नु पर्दैनथ्यो ।
बीमितलाई १ लाख रुपैयाँबराबरको उपचार खर्च बीमा बोर्डले व्यहोर्ने गर्छ । उनले अनावश्यक स्वास्थ्य परीक्षणलाई कम गराउन सहभुक्तानी प्रणाली लागू गरिएको बताइन् । ’बीमितले अनावश्यक रूपमा स्वास्थ्य परीक्षण गराउन थाले’, कँडेलले भनिन्, ’त्यसलाई कम गरेर आवश्यक मात्र स्वास्थ्य परीक्षण गराउन भनेर बिरामीलाई १० प्रतिशत तिराउने निर्णय गरेका हौँ ।’
उनका अनुसार सहभुक्तानी प्रणाली आगामी माघ १ देखि लागू हुनेछ । प्राथमिक स्वास्थ्य केन्द्र र २५ शय्यासम्मका अस्पतालमा गरिएको स्वास्थ्य उपचारमा भने बीमितले १० प्रतिशत रकम तिर्न नपर्ने उनको भनाइ छ । सहभुक्तानी प्रणाली संघीय अस्पताल, २५ शय्याभन्दा माथिका प्रदेश र प्रादेशिक अस्पताल तथा सबै निजी एवं सामुदायिक अस्पतालमा लागू हुनेछ ।
गरिब, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अशक्त, एचईआईभी सङ्क्रमित, जटिल क्षयरोगी, कुष्ठरोगी र महिला स्वास्थ्य स्वयंसेविकाहरुले भने १० प्रतिशत रकम तिर्नु नपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । बोर्डमा हालसम्म ७४ लाख बीमित भइसके पनि करिब ४७ लाख मात्र सक्रिय छन् ।
वि.सं. २०७२ चैत २५ गते गुणस्तरीय स्वास्थ्य सेवालाई जनस्तरसम्म पु¥याउनका लागि स्वास्थ्य बीमा बोर्ड स्थापना गरिएको थियो । यो अहिले ७७ जिल्लामा लागू गरिएको छ । केही दिन अघि मात्रै यसमा भएका केही व्यहारिक कठिनाइ हटाउदै एक रोगका लागि पटक पटक रेफर लिनुपर्ने बाध्यताको अन्त्य गरिएको थियो ।