इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

२ असार , काठमाण्डौ ।

Advertisement

इरानसँग गरेको प्रारम्भिक शान्ति समझौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समस्यामा परेका छन् । उनी आवद्ध रिपब्लिकन पार्टीका नेताहरूले नै यो सम्झौतालाई अझै पूर्ण समर्थन गरेका छैनन् । उनीहरूले समझौताको पूरा दस्तावेज र सबै शर्तहरू अध्ययन गरेर मात्रै आफ्नो धारणा स्पष्ट गर्ने बताएका छन् ।

समाचार वेबसाइट सिमाफोरका अनुसार, पार्टीका शीर्ष नेताहरूले सम्झौताका सबै विवरण सार्वजनिक नभएसम्म समर्थन वा विरोध गर्नु हतार हुने बताएका छन् । उनीहरू मुख्य रूपमा यस सम्झौताबाट अमेरिकालाई के फाइदा हुन्छ, इरानलाई कस्ता सहुलियतहरू दिइन्छ ? यसको दीर्घकालीन राजनीतिक तथा सुरक्षा प्रभाव के पर्छ भन्ने हेर्न चाहन्छन् ।

Advertisement

एक्सियोसको रिपोर्ट अनुसार, ट्रम्प सरकारभित्रै यो सम्झौतलाई लिएर मतभेद देखिएको छ । सीआईए प्रमुख जोन ¥याटक्लिफले इरानले सबै वाचा पूरा गर्छ कि गर्दैन भन्नेमा शंका व्यक्त गरेका छन् । विदेशमन्त्री मार्को रुबियोले पनि इरानले आफ्नो परमाणु कार्यक्रममा अमेरिकाले अपेक्षा गरेको कदम चाल्न तयार नभएको बताएका छन् ।

रक्षामन्त्री पिट हेगसेथले पनि सम्झौतप्रति चिन्ता व्यक्त गरेका छन् । यसको विपरीत, उपराष्ट्रपति जेडी भान्स, विशेष दूत स्टिभ भिटकफ र जेरेड कुशनर भने सम्झौतालाई अगाडि बढाउने पक्षमा छन् । वाल स्ट्रीट जर्नलको रिपोर्ट अनुसार, ट्रम्पले यो सम्झौताको घोषणा अचानक ट्रुथ सोसलमा गरेका थिए ।

Advertisement

आइतबार साँझ स्थानीय समयअनुसार ५ बजेपछि व्हाइट हाउसमा डिजिटल हस्ताक्षर गरेको बताइएको छ । रिपोर्टमा ट्रम्पले यो दस्तावेजमा हस्ताक्षर गर्दा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरिरहेका पनि खुलाइएको छ । यस अचानकको घोषणाले ट्रम्पका केही सहयोगीहरूलाई समेत आश्चर्यमा पारेको थियो ।

ट्रम्पले पश्चिम एसियामा युद्ध समाप्त गर्न इरानसँग गरेको यो प्रारम्भिक समझौता अझै विवादास्पद बनेको छ । रिपब्लिकन पार्टीभित्र पूर्ण सहमति नभएसम्म यसको भविष्य अन्योलमै रहेको देखिन्छ । यता इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको सम्भावित शान्ति सम्झौतामा लेबनानसहित सबै मोर्चामा युद्धको अन्त्यलाई सबैभन्दा महत्त्वपूर्ण सर्तका रूपमा अघि सारेका छन् ।

उनका अनुसार पश्चिम एसियाका विभिन्न मोर्चामा जारी सङ्घर्ष अन्त्य नभएसम्म कुनै पनि समझदारी पूर्ण मान्न सकिँदैन । “हाम्रो बुझाइमा यो सम्झौतामा दुई पक्ष छन–एकातर्फ अमेरिका र इजरायल, अर्कोतर्फ इरान र हिजबुल्लाह”, सरकारी टेलिभिजनमा विदेशी कूटनीतिज्ञहरूसँगको ब्रिफिङमा अराघचीले थप स्पष्ट पार्दै भने, “सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको लेबनानसहित सबै मोर्चामा युद्धको तत्काल र स्थायी अन्त्य हो । लेबनानमा युद्ध अन्त्य हुनु नै पूर्ण युद्ध अन्त्यको अभिन्न अङ्ग हो।”

यो टिप्पणी तेहरान र वासिङ्टनबीच फेब्रुअरी २८ मा पश्चिम एसिया युद्ध अन्त्य गर्ने उद्देश्यसहित समझदारी ज्ञापनपत्र घोषणा भएपछि आएको हो । उक्त युद्ध इरानमा भएको अमेरिका–इजरायली आक्रमणपछि फैलिएको थियो । इरानको सर्वोच्च नेताको हत्यापछि इरान समर्थित हिजबुल्लाहले इजरायलमाथि रकेट आक्रमण गरेसँगै लेबनान मार्चको सुरुवातमा युद्धमा तानिएको थियो ।

त्यसपछि इजरायलले लेबनानमा सैन्य कारबाही र स्थल आक्रमण तीव्र बनाएको थियो । अराघचीका अनुसार इजरायली सेना कब्जा गरिएका क्षेत्रबाट पूर्ण रूपमा फिर्ता नभएसम्म युद्ध अन्त्य भएको मान्न सकिँदैन । उनले भने, “कब्जा गरिएका भूभागबाट इजरायली सेना फिर्ता नभएसम्म यो युद्ध समाप्त भएको मानिने छैन ।”

उनले इजरायलको निरन्तर सैन्य गतिविधिलाई सम्झौताको उल्लङ्घनका रूपमा व्याख्या गर्दै भने, “लेबनानमा जियोनिस्ट शासनद्वारा हुने कुनै पनि सैन्य आक्रमण वा लेबनानी भूभागमा निरन्तर कब्जा समझदारी ज्ञापनपत्रको उल्लङ्घन हुनेछ ।” इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने इजरायली सेना आवश्यक परेसम्म लेबनान, सिरिया र गाजामा रहने बताउँदै आएका छन् ।

सोमबार सम्झौताको घोषणा भएलगत्तै हिजबुल्लाहले दक्षिणी लेबनानमा अगाडि बढ्न खोजिरहेका इजरायली सेनामाथि आक्रमण गरेको दाबी गरेको छ । इरान र अमेरिकाबिच शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक सम्झौता हुने अपेक्षा गरिएको छ। विदेशमन्त्री अराघचीका अनुसार हस्ताक्षरपछि इरानको आणविक कार्यक्रम र प्रतिबन्ध फुकुवासम्बन्धी विस्तृत वार्ता सुरु हुनेछ ।

उनले भने, “सम्भवतः शुक्रबार निश्चित स्थानमा इरान र अमेरिकाबिच अन्तिम सम्झौताका लागि वार्ताको नयाँ चरण सुरु हुनेछ ।” अराघचीका अनुसार अन्तिम सम्झौतामा आणविक गतिविधि नियन्त्रण र इरानमाथि लगाइएका प्रतिबन्ध हटाउने विषय निर्णायक रहनेछ । यसलाई पश्चिम एसियाको दीर्घकालीन शान्तिका लागि महत्त्वपूर्ण चरणका रूपमा हेरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top