३ असार, काठमाण्डौ।
नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरका नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ। केन्द्रीय बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेका यी नयाँ नोटहरू चलनचल्तीमा ल्याइएको हो । नोटमा सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने कुबेरको चित्र रहेको छ ।
राष्ट्र बैंकका अनुसार, संकेत नम्बर झ ३८ ०००,००१ देखि ट ८३ ९९९,९९९ सम्मका नोटहरू चलनचल्तीमा ल्याइएको हो । नयाँ नोटको अगाडि भागमा सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको वाटरमार्क रहेको छ । दृष्टिविहीन व्यक्तिहरूले सजिलै नोट पहिचान गर्न सकून् भन्ने उद्देश्यले नोटको बायाँतर्फ दुईवटा काला थोप्लाहरू राखिएका छन् ।

नोटको सुरक्षा विशेषतालाई थप सुदृढ बनाउन सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र कुबेरको चित्र राखिएको छ, जुन सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिन्छ । त्यस्तै, ३.५ मि.मि. चौडा भएको सुरक्षण धागोलाई सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ्गमा परिवर्तन हुने बनाइएको छ ।
नोटको अगाडिको भागमा गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ भने तल्लो खण्डमा सिरिज नम्बर “वि.सं. २०८२” लेखिएको छ । यो नै डा. पौडेलले हस्ताक्षर गरेको पहिलो नोट हो । नोटको पृष्ठ भाग (पछाडि) तर्फ पाटेबाघको चित्र रहेको छ र सोको माथि ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ । नोटको तल्लो खण्डमा अंग्रेजीमा ‘रुपीज फाइभ हन्ड्रेड’ र सिरिज नम्बर ‘२०२५’ उल्लेख गरिएको छ ।

नयाँ पाँच सय रुपैयाँका नोटहरू आकार र रंगमा भने पुरानै डिजाइनसँग मिल्दोजुल्दो छन्, तर सुरक्षा विशेषता, सिरिज संरचना र पहिचान प्रणालीमा महत्वपूर्ण परिमार्जन गरिएको हो । नेपाली नोट प्रणालीअनुसार प्रत्येक अक्षर समूह (झ, ञ, ट) अन्तर्गत ०००,००१ देखि ९९९,९९९ सम्म करिब १० लाख थान नोट छापिन्छन् ।
यस हिसाबले नयाँ सिरिजअन्तर्गत करिब ३० लाख थान नोट बजारमा प्रवेश गरेको राष्ट्र बैंकले जनाएको छ । यो नयाँ जारीसँगै २०७८ पुस ९ गतेदेखि प्रचलनमा आएको ५०० रुपैयाँ दरको २०२० सिरिजका २ लाख ४८ हजार थान नोटलाई क्रमशः प्रतिस्थापन गर्ने प्रक्रिया पनि अघि बढ्ने अपेक्षा गरिएको छ । नयाँ नोटमा राष्ट्रिय पहिचान र सुरक्षा दुवै पक्षलाई प्राथमिकता दिइएको देखिन्छ ।
नोटको तल्लो भागमा २०८२ सिरिज नम्बर उल्लेख गरिएको छ, जसले यसको नयाँ संस्करणलाई संकेत गर्छ । नोटको सुरक्षाका लागि ३.५ मिलिमिटर चौडाइको विशेष सुरक्षण धागो राखिएको छ, जसले नकली नोट नियन्त्रणमा सहयोग गर्ने अपेक्षा गरिएको छ । उक्त धागो पनि प्रकाशअनुसार रंग परिवर्तन हुने खालको छ ।
राष्ट्र बैंकका अनुसार नयाँ नोट केवल मुद्राको साधन मात्र नभई राष्ट्रिय पहिचान, सुरक्षा प्रविधि र समावेशी वित्तीय पहुँचलाई जोड्ने आधुनिक डिजाइनको उदाहरणका रूपमा ल्याइएको हो ।
