२० पुष, काठमाण्डौ ।
क्रिश्चियन धर्मको पक्षधरमा रहेर हिन्दु धर्मालम्बीविरुद्ध अभिब्यक्ति दिएको भन्दै केही दिन अघि तीव्र आलोचनासहित राजीनामा दिनुपर्ने मागको समाना गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी निवेदन परेको छ ।
बिहीबार मन्त्री किराँतीविरुद्ध ध्रुवराज लुईटेलले हुलाकमार्फत जाहेरी दिएका हुन् । मन्त्री किराँतीले धार्मिक भावनामा आँच पु¥याएको भन्दै उनले जाहेरी दिएका छन् । मन्त्री किरातीले पुस ४ गते क्रिश्चियन मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो संविधान मान्दिन भन्ने देशद्रोही हुन् भन्दै देशद्रोहीलाई हतकडी लगाएर जेल हाल्नुपर्ने आशयको अभिव्यक्ति दिएका थिए ।
उनले भनेका थिए, ‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिन भन्नेहरू संविधान विरोधी हुन् । देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो,’ किराँतीले भनेका थिए । सम्बोधनका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि मुछे । किराँतीले प्रधानमन्त्री प्रचण्डले समेत जिसस क्राइस्टलाई मान्ने दाबी गरे ।
यति मात्र होइन प्रचण्डलाई नै जिसससँग तुलना गर्न भ्याए । ‘अहिलेको प्रधानमन्त्री प्रचण्डज्यू जिससजस्तै विद्रोही नेता हो । उहाँको सबै कुरा जिसससित मिल्छ । जिसस अहिले जन्मेको भए ठ्याक्कै प्रचण्डजस्तै हुनुहुन्थ्यो । मलाई मात्र होइन, प्रधानमन्त्रीलाई पनि जिसस एकदमै मन पर्छ रे ।’
मन्त्री किराँतीले जात जाति सम्प्रदाय र वर्गको धार्मिक भावनामा आघात पु¥याएर क्रिश्चियन धर्मको प्रचार गरेको जाहेरीमा उल्लेख गरिएको छ । यस्तै मन्त्री किराँतीले क्रिश्चियन धर्मको प्रचारक जस्तो बनी अन्य धर्मप्रति हेय तथा भेदभाव पु¥याएकाले उनलाई पक्राउ गरी ३ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गराउन माग गरिएको छ ।
केही दिन अघि मात्रै मन्त्री किराँतीले सबै अस्तित्व सम्मान छ भन्दा राजीनामा मागिएको भन्दै आक्रोश व्यक्त गरेका थिए । मंगलवार काठमाडौंमा एक सार्वजनिक कार्यक्रममा उनले संविधानको व्याख्या गर्दा राजीनामा दिनुपर्ने हो ? भन्दै प्रश्न गरेका थिए । उनले नेपाली समाज र मान्ने वा नमान्ने अर्को पाटो रहेको बताए ।
मन्त्री किराँतीले आफ्नो निधारमा मन्त्रीको छाप नरहेको र राजीनामा दिन आफू सधैँ तयार रहेको बताए । उनले आफ्नो लागि धर्म नेपाली, मन्दिर देश र भगवान जनता भएको बताएका छन् । मन्त्री किराँतीले आफूलाई पशुपति बिरोधी नै बनाउनेहरुले पशुुपतिकै नाम जपेर आफ्नो राजीनामा मागेपनि अन्ततः हारेको बताएका थिए ।

