२ माघ, विराटनगर ।
नेपाल टाइम्सले मिडियासम्बन्धि एक महिने तालिम सुरु गरेको छ । ‘जर्नी–टू–दि–स्क्रीन’को अभियानका रुपमा नेपाल टाइम्सले “स्क्रीप्ट–टू–स्क्रीन” एक महिने तालिम मंगलबारबाट सुरु गरेको हो ।
तालिममा स्थानीय विभिन्न कलेज तथा पेशामा आबद्ध १० जना प्रशिक्षार्थी सहभागी छन् । सोमबार अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएकोमा मंगलबारबाट नियमित तालिम सुरु भएको छ ।
विशेष गरी समाचारवाचक, कार्यक्रम प्रस्तोता, दृष्य सम्पादकहरु उत्पादन गर्ने उद्धेश्यले आयोजना गरिएको तालिमले सहभागीहरुको ब्यक्तित्वविकासमा समेत सहयोग गर्ने तालिमकी संयोजक रस्मिता उदासले बताइन् ।
एक महिने तालिमका क्रममा श्रब्यदृश्यसहित पत्रकारिताका विषयमा यसै क्षेत्रमा लामो समयदेखि आवद्ध दक्ष प्रशिक्षकहरुबाट प्रशिक्षण दिइनेछ । तालिममा व्यवहारिक सिकाइलाई थप प्राथमिकता दिइने छ ।
सञ्चार क्षेत्रमै आफ्नो भविष्य खोज्दै केही गर्ने लक्ष्य राखेकाहरुलाई प्राथमिकतामा राखी नेपाल टाइम्सले यो तालिमको आयोजना गरेको हो ।
यस्तो तालिम नियमित रुपमा संचालन गरिने भएकाले यस क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहने तथा आफ्नो व्यक्तित्व विकास गर्न चाहनेहरुलाई अवसर प्रदान गर्ने तालिम संयोजक उदासले बताएकी छन् । तालिम नेपाल टाइम्सको विराटनगरस्थित कार्यालयमै संचालन भइरहेको छ ।