८ माघ ,एजेन्सी ।
भारतको अयोध्यामा बनिरहेको भव्य राम मंदिरमा भगवान रामको प्राण प्रतिष्ठा आज हुँदैछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं रामको अभिषेक समारोहमा सहभागी हुँदैछन् । यसअघि मोदीले १२ जनवरी देखि ११ दिनसम्म कठिन अनुष्ठान गरिरहेका छन् । प्रधानमन्त्री मोदी कम्बल ढाकेर भुइँमा सुतेर दिनभर नरिवल पानी मात्र पिइरहेका छन् ।
अहिले मोदी मन्दिर भित्र प्रवेश गरिसकेका छन् । प्राण प्रतिष्ठाको पूजा अहिले जारी रहेको छ । प्राणपतिष्ठाका क्रममा शास्त्रीय विधिविधान पूरा गराउने कार्यमा नेपाली नागरिक दुर्गाप्रसाद गौतम पनि संलग्न हुँदैछन् । उनले आफूले पाएको अवसर “ऐतिहासिक” भएको बताएका छन् ।
पाँच सय वर्षपछि राम मन्दिरको प्राणप्रतिष्ठा हुन गइरहेको र त्यसका धार्मिक विधिविधान गराउने कार्यमा आफू संलग्न हुन पाउनु “गौरवको कुरा” भएको उनले बताए । झापाका गौतम सन् २०२० को मार्च १८ देखि श्री राम जन्मभूमि तीर्थ क्षेत्रका मुख्य ‘आचार्य’का रूपमा कार्यरत छन् ।
त्यसै वर्ष अगस्टमा राम मन्दिर निर्माण गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूमिपूजन तथा शिलान्यास गर्दा धार्मिक विधिविधान गराउने कार्यमा उनी संलग्न भएका थिए । उनले सन् २०२० देखि पटकपटक भारतका उच्च अधिकारीहरू आउँदाखेरि उनीहरूले गर्ने मुख्य पूजामा आफू संलग्न भइरहेको बताए ।
यद्यपि उनलाई नेपालमा राम मन्दिरको मुख्य पुजारी भनिएकोमा गौतमले आफू मुख्य पुजारी नभएको स्पष्ट पारे । उनले भने, “म मुख्य आचार्य हुँ। मुख्य पुजारी होइन। मुख्य पुजारी त सतेन्द्र दासजी हुनुहुन्छ।” “मुख्य पुजारीको काम मन्दिरको नियमित पूजाअर्चना गर्ने हुन्छ भने आचार्यको काम कुनै ठूलो यज्ञ वा अनुष्ठान गर्दा व्यवस्थापन गर्ने र विशेष पूजा गर्दा पुरोहितहरूको नेतृत्व गर्ने हुन्छ।”
उनले प्राणप्रतिष्ठाका क्रममा कुल १२१ पुरोहितहरूले धार्मिक विधिहरू पूरा गर्ने र ती सबैको व्यवस्थापनमा आफू जुटेको जानकारी दिए । गौतमले दिएको जानकारी अनुसार प्राणप्रतिष्ठाका क्रममा विधिहरू पूरा गरेर जम्मा पाँच जनालाई मात्र मन्दिरको गर्भगृहमा राख्नेगरी व्यवस्थापन मिलाइएको छ ।
“गर्भगृहमा पाँच जना मात्र रहनुहुन्छ हामीले समेत बाहिरबाट मन्त्रोच्चारण गर्ने हो र विधि पूरा गर्ने हो,” उनले भने । ‘गर्भगृहमा रहने पाँच जना चाहिँ को हुन् त?’ भन्ने प्रश्नमा उनले भने, “प्रधानमन्त्री मोदीजी, मुख्यमन्त्री योगीजी (योगी आदित्यनाथ), सरसङ्घचालक मोहन भागवतजी (राष्ट्रिय स्वयमसेवक सङ्घ), आनन्दीवेन पटेलजी (उत्तरप्रदेशकी गभर्नर) र नृत्यगोपाल दासजी (श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष) रहनुहुन्छ।
”उनले विशिष्ट व्यक्तित्वहरूले प्राणप्रतिष्ठाको अन्तिम विधि पूरा गर्नुअघि धेरैखाले विधानहरू पहिले नै पूरा भइसकेको हुने बताए । गौतम झापाको बाहुनडाँगीका स्थायी बासिन्दा हुन्। नेपालमा प्राथमिक शिक्षा लिएर अध्ययनका लागि आफू भारत गएको उनी बताउँछन् ।
बनारस र दिल्लीबाट उच्च शिक्षा हासिल गरेका उनी अहिले अयोध्यास्थित राम मन्दिरका मुख्य आचार्य रहेका छन्। गौतम स्थानीय एउटा वेद विद्याश्रममा अध्यापन पनि गराउँछन् । संस्कृत व्याकरणमा आचार्य गरेका गौतम अहिले विद्यावारिधिको तयारीमा रहेको बताउँछन्।