२३ माघ, काठमाण्डौ ।
चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालमा रेमिट्यान्सको आप्रवाह २५.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको रिपोर्ट सार्वजनिक गर्दै चालू आर्थिक वर्षको ६ महिनामा २५.३ प्रतिशतभन्दा धेरैले रेमिट्यान्स बढेको जानकारी दिएको हो । पुस मसान्तसम्म आइपुग्दा रेमिट्यान्स २५.३ प्रतिशतले बढेर ७३३ अर्ब २२ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । पुस मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ७५ हजार ६४३ र १ लाख ४२ हजार ५४८ रहेको थियो । यस्तै मुलुकको शोधनान्तर अवस्था सुधार हुँदै गएको छ । पुस मसान्तसम्ममा शोधनान्तर स्थिति २७३ अर्ब ५२ करोडले बचतमा पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९२ अर्ब १५ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ७४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ६ करोडले बचतमा रहेको छ । त्यस्तै चालू खाता समेत राम्रो अवस्थामा छ । चालू खाता १ खर्ब ६१ अर्ब ६२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३५ अर्ब ५७ करोडले घाटामा रहेको थियो ।
यस्तै चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालमा विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले बढेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले बढेर २०८० पुसमसान्तमा आइपुग्दा १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० पुस मसान्तमा १६.९ प्रतिशतले बढेर १३ अर्ब ६९ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० पुस मसान्तमा १८.९ प्रतिशतले बढेर .१६ खर्ब २३ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० पुस मसान्तमा ११.८ प्रतिशतले बढेर २ खर्ब १६ अर्ब ३५ करोड कायम भएको छ । २०८० पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।
चालू आवको ६ महिना अर्थात पुस मसान्तसम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०८० पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३३.८ प्रतिशत, १००.९ प्रतिशत र २७.७ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए ।