४ फागुन,विराटनगर ।
मोरङको बूढीगंगामा बोक्सीको आरोप लगाउँदै महिलामाथि कुटपिट गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बूढीगंगा गाउँपालिका–७ की ५० वर्षीय पारो माझी छिन् ।
५५ वर्षीय महिलालाई कुटपिटका साथै यातना दिएर मलमूत्र खुवाएर अमानवीय व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
पक्राउ परेकी माझीले गाउँघरमा धामी झाँक्रीको काम गर्दै आएको पाइएको उनले बताए । प्रहरीका अनुसार धामी झाँक्री भएर झारफुकको काम गर्ने माझीको घरमा लगाइएको पूजामा प्रयोग गरिएको दियो हराएको थियो।
पूजाको दियो चोरी गरेको आरोप उनले ती महिलालाई लगाएकी थिइन् । पूजाको दियो हराएपछि चोरी गरेको भनेर बोक्सीको आरोप लगाउँदै उनले महिलालाई कुटपिट गरेर यातना दिँदै मलमूत्र खुवाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी दाहालले बताए ।
डीएसपी दाहालका अनुसार जोखाना हेर्दा र तान्त्रिक विधिबाट ध्यान गर्दा दियो चोरेको थाहा भएकाले बोक्सीलाई गर्ने कारबाही गरेको माझीले प्रहरीसमक्ष स्वीकार गरेकी छन् ।
त्यसक्रममा पीडितले आफू बोक्सी नभएको र आफूले दियोसमेत नचोरेको भन्दै यातना नदिन र मलमूत्र नखुवाउन पटक–पटक आग्रह गरेकी प्रहरीको भनाइ छ ।
तर माझीले भने आफ्नो घरमा लगाएको पूजामा बोक्सी प्रवेश गरेर दियो चोरेको भन्दै अमानवीय व्यवहार गरेकी थिइन् ।
धामी झाँक्रीको काम गर्दै आएकी माझीलाई पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको दाहालको बताए ।
उनीविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ । अनुसन्धानका लागि अदालतबाट शुक्रवार म्याद थप गरिएको मोरङ प्रहरीले जनाएको छ ।