१४ फागुन, काठमाण्डौ ।
नेपाली ट्रेल धाविका प्रिया राई लिस्टीकोट–दुगुनागढी माउन्टेन ट्रेल रेसमा दोस्रो पटक च्याम्पियन बनेकी छन् । भोटेकोशी समृद्धिको आधार भन्ने नाराका साथ भोटेकोशी गाउँपालिका र इन्द्रध्यवज गणको समन्यवमा आयोजना भएको लिस्टीकोट–दुगुनागढी माउन्टेन ट्रेल रेस प्रियाले २४.५ किलोमिटरको दुरीमा पूरा गर्दै पहिलो स्थान हासिल गरेकी हुन् ।
उनले २ महिना भित्र कुल ५ दौड जितेर नेपालका लागि अन्तर्राष्ट्रिय ट्रेल रनिङ संघ आइटीआरए राष्ट्रिय लिग, २०२३ मा पहिलो स्थान समेत हासिल गरिसकेकी छन् । उनले उपाधिसँगै ६० हजार नगद पुरस्कार समेत जितेकी छन् । दुई साता अघि मात्रै उनलेकाठमाडौं उपत्यकामा ५४ किलोमिटर दौडमा पनि पहिलो स्थान हासिल गरेकी थिइन ।
जंगलको माध्यमबाट थोरै घुमाउरो बाटोमा केही समय हराएपनि उनले ५४ किलोमिटर दौडमा पहिलो स्थान हासिल गरेकी थिइन । प्रियाले गत माघमा ट्रायलमान्डुको आयोजना गरेको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको तेस्रो चरणमा पनि पहिलो स्थान हासिल गरेकी थिइन ।
झुलेमा सुरु भएर रानीकोटमा सम्पन्न भएको ३० किमी दौडमा पुरुषतर्फ रमेश लिम्बु र महिलातर्फ प्रिया राई पहिलो भएकी थिइन । महिलातर्फ च्याम्पियन बनेकी प्रियाले चार घन्टा पाँच मिनेट ५२ सकेन्डमा दौड पूरा गरेकी थिइन । सो स्टेज रेस च्यालेन्सको दोस्रो चरणमा स्वदेशी र विदेशी गरी ९६ धावकधाविकाको सहभागिता रहेको थियो । अन्तर्राष्ट्रिय ट्रेल रनिङ संघको राष्ट्रि लिगमा उनी १८९२ स्कोरसहित पहिलो स्थानमा छिन् । पुरुष तर्फ यो सूचीको पहिलो स्थानमा सुमन कुलुङ छन् ।