१४ फागुन, काठमाण्डौ ।
नेपाली क्रिकेटरहरुले उचित पारिश्रमिक नपाइरहेको गुनासो लामो समयदेखि बढिरहेका बेला नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटरहरुलाई मासिक एक लाख सम्म तलब दिने निर्णय गरेको छ । क्यानले कप्तान रोहितकुमार पौडेल सहित केन्द्रिय सम्झौताको ए ग्रेड मा परेका ६ खेलाडीलाई मासिक १ लाख रुपैयाँ तलब दिने भएको हो ।
क्यानको फागुन १२ र १४ बसेको केन्द्रिय कार्यसमितिको बोर्ड बैठकले पुरुषतर्फ ए ग्रेडमा पर्ने खेलाडीलाई मासिक १ लाख रुपैयाँ तलब दिने निर्णय गरेको छ । पुरुषतर्फ बी ग्रेडलाई ७० हजार, सी लाई ५५ हजार, डी लाई ३५ हजार तथा इमर्जिङ क्याटगोरीलाई २५ हजार रुपैयाँ दिने निर्णय गरेको हो ।
त्यस्तै महिलातर्फ ए ग्रेडका खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । बी ग्रेडलाई ३५ हजार, सी लाई ३० हजार, डी लाई २५ हजार तथा इमर्जिङ क्याटगोरीलाई २० हजार रुपैयाँ दिने निर्णय गरेको हो । पुरुषतर्फ ३० खेलाडीले केन्द्रिय सम्झौता प्राप्त गर्दा महिलातर्फ १९ जना ग्रेडीङमा परेका छन् ।
पुरुषतर्फ ग्रेडमा परेका क्रिकेटरहरुमा :
ग्रेड ए – रोहित पौडेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल भुर्तेल
ग्रेड बी – कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललित नारायाण राजवंशी, अभिनाश बोहोरा
ग्रेड सी – विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा, प्रतिश जिसी
ग्रेड डी – पवन सर्राफ, सागर ढकाल, अनिल शाह, विवेक कुमार यादव, आकाश चन्द, बसिर अहमद, सूर्य तामाङ
इमर्जिङ क्याटगोरी – दीपेश कँडेल, रुपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती, हेमन्त धामी
यस्तै महिलातर्फ ग्रेडमा परेका क्रिकेटरहरुमा :
ग्रेड ए – इन्दु वर्मा, रुविना क्षेत्री, सिता रानामगर
ग्रेड बी – कविता कुँवर
ग्रेड सी – पुजा महतो, अश्मिना कर्मचार्य
ग्रेड डी – अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ, विन्दु रावल
इमर्जीङ – सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्स्निका मरासिनी, कन्चन श्रेष्ठ, रुवी पोदार, सृष्टि जैशी, सम्झना खड्का, सना प्रविन रहेका छन् ।